लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा-अन्यायको हिसाब मिलान भएपछि धेरै बोल्ने उनको भनाई

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ४
|
1k views

ललितपुर - ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका छन् । बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही पुगेका थिए । लामिछाने कागजी प्रक्रिया पूरा गरेर कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएका हुन् ।

लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो । यसैबीच लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकी रहेको बताएका छन् । रिहा पछि उनले अहिले आफ्नो बोल्ने समय नआएको समेत बताए । अन्यायको हिसाब मिलान भएपछि धेरै बोल्ने उनले बताए ।

सुप्रिम सहकारी ठगी सम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतले यसअघि गरेको थुनामा पठाउने आदेशलाई बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने विद्यमान कानुनी व्यवस्थाअनुसार सहकारी ठगीसम्बन्धी मुद्दा विचाराधीन रहेकाले निर्वाचनमा उम्मेदवार हुन पाउँछन् । तर, लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा पनि दर्ता भएका कारण सार्वजनिक पद धारण गर्न भने पाउने छैनन् ।

 पात्रो/राशिफल  रेडियो YouTube