लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त महरा को हुन् ?

काठमाण्डाै २५  चैत २०८० 

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्। प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जारी विज्ञप्तिमा जनाइएको छ ।
महरालाई नेकपा (एमाले)का २९, नेकपा (माओवादी केन्द्र)का १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, नेकपा (एकीकृत समाजवादी)का एक र एक स्वतन्त्र एक सदस्यको समर्थन छ ।
पूर्णकालीन राजनीतिमा लाग्नुअघि १३ वर्षसम्म शिक्षण पेसामा संलग्न थिए। २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक र २०४४ देखि २०५० सालसम्म मावि शिक्षक रहेका उनले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका छन्। माओवादी राजनीतिमा संलग्न भएपछि भने उनी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट रहेर काम गर्दै आएका छन्।

रोल्पाको साविक गजुलमा जन्मिएका महराको राजनीतिमा संलग्नताचाहिँ २०३६ सालको विद्यार्थी आन्दोलनबाट भएको हो। उनी २०४२ सालमा अनेरास्ववियु दाङको सचिव भएका थिए। सोही वर्ष नेकपा मशालको पार्टी सदस्यता लिएका महरा २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भएका थिए।

महरा २०४७ सालमा नेकपा मशालको रोल्पा जिल्ला समिति सदस्य भए। २०५० सालमा उनले शिक्षण पेसाबाट राजीनामा दिए। अनि पूर्णकालीन कार्यकर्ता बनेका थिए। त्यसपछि महरा २०५१ सालमा माओवादीको रोल्पा जिल्ला सेक्रेटरी भएका थिए।

२०५४ सालमा माओवादीको क्षेत्रीय ब्युरो सदस्य भएका महरा २०५६ देखि २०६० सालसम्म नेकपा माओवादीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारीमा थिए। २०६० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य भएका उनी २०६४ सालमा नेकपा माओवादीका तर्फबाट संविधान सभा सदस्य भएका थिए।

२०६२ देखि २०६५ साल सम्म पार्टी अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव थिए। यसैगरी प्रचण्ड प्रधानमन्त्री हुँदा पनि महराले प्रमुख स्वकीय सचिवको जिम्मेवारी पाएका थिए। साथै उनी २०७२ देखि २०७८ सम्म अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव थिए। महरा नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य हुन्। महरा २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा रोल्पा १ ‘क’ बाट निर्वाचित भएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया