
ललितपुर। केही वाणिज्य बैंक र वित्तीय संस्थाले असोज महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । सोही अनुसार नयाँ ब्जाजदरको तालिका समेत सार्वजनिक गरेका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको मसान्तभित्र ब्याजदर तोकिसक्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले आगामी महिनाका लागि ब्याजदर तोकेका हुन् । वाणिज्य बैंकहरूमध्ये यसपटक ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर गर्दा बाँकी बैंकहरूले यथावत् राखेका छन् ।
भदौ महिनामा ५.५७७ प्रतिशतविन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा झरेको छ। समीक्षा अवधिमा बैंकहरुको यस्तो ब्याजदर ०।११ प्रतिशतविन्दु घटेको हो।
विवरण अनुसार २० वाणिज्य बैंकहरूमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म ब्याजदर तोकेका छन् । विभिन्न प्रकारका बचत खाताबिच २ प्रतिशत भन्दा धेरै ब्याजदर अन्तर हुन नपाउने व्यवस्था छ भने रेमिट्यान्स खाताको ब्याजदरमा थप १ प्रतिशत विन्दुले ब्याजदर थप्न पाउने व्यवस्था छ । बैंकहरूले त्यही रेञ्जभित्र रहेर विशेष खाता तथा रेमिट्यान्स खाताको ब्याजदर निर्धारण गरेका छन् ।
त्यस्तै, मुद्दती खाता अन्तर्गत एकवर्षे व्यक्तिगत बचतमा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । व्यक्तिगत मुद्दतीतर्फ एक अधिकतम ब्याजदर भने अहिले पनि ६ प्रतिशतसम्म रहेको छ । खासगरी कम अवधिका लागि कम ब्याजदर र लामो अवधिका लागि धेरै ब्याजदर दिनेगरी बैंकहरूले नयाँ ब्याजदर तालिका बनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया