विकासको ‘भ्यु टावर’ कि ‘भरत थापा मोडल’ ?

रिसव गौतम

भिजन, मिसन, अनि देशप्रेम भए जनप्रतिनिधिहरुले जत्ति पनि राम्रो काम गर्न सक्छन् भन्ने एउटा उदाहरण हुन् सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा । भरत थापा मात्र होइन् उनी जस्तै जनस्तरमा सिर्जनशील र देखिने गरी काम गर्ने अरु पनि छन् । जो धेरै चाँही छैनन् । 

राम्रो काम गरेकै कारण भरत थापा पछिल्लो स्थानिय तह निर्वाचनमा दोहोरिए । त्यसरी दोहोरिन उनले जनता समक्ष भोट माग्न परेन, लोकप्रिय मतसहित जनताले नै उनलाई जिताए । 

मेयरको रुपमा उनको कामको प्रशंसनीय गरिरहँदा उनीमाथी हालै भष्ट्राचारको आरोपमा अख्तियारले अदालतमा हालेको मुद्धा छिपेको छैन । तर राजनीतिक आग्रह पुर्वाग्रहमा बाँडिएको देशमा अख्तियारले मुद्धा हाल्दैमा कोही दोषी भइहाल्ने पनि होइन् । किनकी प्रमाणित गर्ने निकाय अदालत हो । अदालतले प्रमाणित गरे पक्कै उनले सजाय पाउलान् । त्यो बेल्लै विषय हो । त्यस्तै आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर, उपमेयर सहित दर्जन बढीले अदालतमा भष्टाचार मुद्धा परेपछि अदालतबाटै सफाइ पनि पाएका छन् ।

तर यहाँ उठाउन खोजिएको विषय थापाले मेयरको रुपमा गरेका नविनतम कामको हो । जसले त्यहाँको जनजनमा सकारात्मक उर्जा दिएको छ । निराशाहरु आशामा परिणत भएका छन् । वेरोजगारहरुले रोजगारी पाएका छन् । उद्यम गर्न चाहनेहरुले अवसर देखेका छन् । समग्र नगरको पर्यटन आर्कषणका कारण आम्दानी बढेको देखिन्छ । त्यसमाथी ठाउँकै इज्यत, प्रतिष्ठा र आर्कषण बढेको छ । मेयरको रुपमा थापाले अघिल्लो कार्यकालदेखि नै प्रसंशनीय काम गरेका थिए । उनले गरेको कार्यले देश–विदेश सबैतिर चर्चा समेत पाएको छ ।

कुनै समय (०५० सालमा) बुढी बागमतीमा आएको बाढीले सर्लाहीको बागमति नगरपालिका आसपास तहसनहस नै पारेको थियो । बाढीले नदी आसपासका जग्गा–जमिन बगाएर बालुवाको उजाड बगर बनाएको थियो । बस्तीहरु बगेका थिए । बाढीपछी धेरैले जग्गा–जमिन बचेर बसाई सराइ पनि गरेको स्थानिय सुनाउँछन् । बाढीले खोला वरीपरीको धेरैजसो जमिन बगरमा परिणत भएपछि धेरैको खुशी लुटिएको थियो । 

तर यसबीच खोला किनारलाई ब्यवस्थित टटबन्धन गरिएको छ । बगरमा परिणत भएको उजाड भुमिमध्ये (१२१ विघा जग्गा) मा भब्य ताल बनाइएको छ । सो ताल अवलोकन गर्दा जो कसैले फेवा ताल बिर्सन्छन् । ताल निकै नै विशाल र सुन्दर देखिन्छ । महाकवी देबकोटाले ‘नेपाल सुन्दर, शान्त र विशाल छ’ भनेर कल्पेका थिए । वास्तम्बमै महाकविका सुन्दर भाव र उच्च चेतना मेयर थापामा पनि रहेको ताल नियाल्दा महसुस हुन्छ । ताल पुगेपछि जो–कसैले मेयर थापाको तारिफ गर्छन् । 

तालको नाम स्थानियले नै मेयरको कामलाई सम्मान गर्दै ‘भरत ताल’ राखिदिएको संकथन छन् । ‘भरत ताल’ बनाइनु अघि त्यस ठाउँ झाडी–जङगल र बगर थिए रे । तस्करहरुले रुख काटेर बेच्ने धन्दाहरु चल्थे रे । जब भरत थापा मेयरको रुपमा उदाए, त्यसपछि उनले लाखौं पर्यटकहरु भित्राउने, माछा पालन गरेर मनग्य आम्दानी गर्ने, पिकनिक स्पटहरु बनाउने, रमणीय उद्यमहरु बनाउने योजनाहरु बुने । महंत्वकाक्षी लक्ष्य सहित ताल बनाउने निर्णय गरे । उनले त्यो काम आफनो पहिलो कार्यकालमै लगभग पुरा गरेका थिए । अहिले देशका विभिन्न ठाउँहरुबाट मात्र नभएर भारत लगायत अन्य देशहरुबाट समेत ताल हेर्न पर्यटकहरु आउन थालेको स्थानिय सुनाउँछन् । १२१ विघा जग्गामा निर्मित सो ताल तराई मधेशकै सबैभन्दा ठुलो ताल भएको बताइन्छ । 

सो ताल बनेसँगै सर्लाहीको बागमती नगरपालिकाको मात्रै नभएर जिल्लाकै आर्कषण बढेको स्थानीयको बुझाइ छन् । बसाइ सरेर गएकाहरु पनि फर्कन थालेका र जग्गा जमिनको भाउ समेत बढ्दै गएको स्थानिय अटो चालक केदार माझी बताउँछन् । तालले स्थानिय स्तरमा घनिभुत रुपमा रोजगारी सिर्जना गर्दै लगेको अर्का स्थानिय राम माझी बताउँछन् । पर्यटकीय हिसावका रोजगारीहरु सिर्जना भएका देखिन्छन् । ताल वरपर ३०–४० ओटा होटलहरु खुलिसकेका छन् । हाल २५ वटा ‘वोट’ तालमा सञ्चालित छन् । ३ सय रुपैयाँमा ‘वोट’ चढ्ने सुविधाले उनीहरुका आम्दानी उकासेका छन् । स्थानिय अटो चालकहरुले काम पाएका छन् । तालमा माछापालन समेत गरिएकोले नगरपाललिकाको आम्दानी बढ्ने भएको छ । पूर्वपश्चिम राजमार्गको मुल सडकबाट ताल जाने बाटो र तालको वरीपरी पुरै पिच गरिएको छ ।

सर्सती हेर्दा ‘भरत ताल’ लाई एउटा नमुना पर्यटकीय योजनाको रुपमा लिन सकिन्छ । सो ताल र ताल नजिकै नगरपालिकाले नै बनाएको ‘फर्न पार्क’ पर्यटकीय हिसावले अझ उत्कृष्ठ छ । कृत्रिम रुपमै ४–५ बर्षमै खडा गरिएको ‘भरत ताल’ र बागमति नदी किनारैमा ५ बिघा सरकारी जग्गामा बनाइएको ‘फन–पार्क’ देशकै योजनावीदहरुका चक्मा दिने खालका छन् । विकासका योजना बनाउनेहरुले त्यसलाई एकचोटी अवलोकन गरेकै राम्रो हुनसक्छ । 

भन्नेहरुले सुरुमा विकास बजेट जथाभावी खर्च गर्यो पनि भने होलान् । केही गर्न चाहनेको खुट्टा तान्ने र भाँजो हाल्ने त नेपालीहरुको संस्कारै भइसकेका छ । त्यसमाथी विकासका गतिविधिहरु माथी पनि अति राजनीतिकरण गरिने परिपाटी, आफ्नोले गर्या ठीक तर अरुले गर्या बेठीक देख्ने स्वार्थी जञ्जालहरुले समाजलाई अधोगति तिर धकेलिरहेको छ । 

त्यसकारण अप्ठेराहरु त पक्कै झले होलान् मेयर थापाले । तर उनको काम नियाल्दा स्यालुट गर्न मन लाग्छ । निर्माणमा १ अर्ब बढी खर्च भइसकेको ‘भरत ताल’ वहुउदेश्यिय योजनाको रुपमा अघि बढाइएको मेयर थापाले बताउँदै आएका छन् । 

जसले त्यस ठाउँको ठुलो सम्भावना उज्जागर गरेको छ । वहुउदेश्यिय परियोजना अन्र्तगत तालमा आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्न अत्याधुनिक बनभोज रुथल, जंगल सफारी, शिव पार्वतीको मन्दीर सहित सुमेरु पर्वत, फनपार्क, मिनी क्यासिनो सहितको होटलहरु निर्माण भइरहेको बताइन्छ । बार्षिक ६० लाख पर्यटक आर्कषण गर्नेगरी संरचना निर्माण गरिएको बताइएको छ । अहिले नै तालमा ५–६ सय जनाले रोजगारी पाएका पनि छन् । 

तालले पर्यटकीय रुपमा मधेशको मात्रै नभएर पुरै देशको र अन्र्तराष्ट्रको समेत ध्यान खिचेको देखिन्छ । ताल सामाजिक सञ्जालहरुमा भाइरल समेत हुदै आएको छ । 

तालले बर्षेनि ठुलो सङख्या पर्यटक भित्राएर आम्दानी गर्ने अवसरको सिर्जना गरेको छ । उजाड जमिन र खेर गइरहेको खोलाको पानीको सदुपयोग भएको देखिन्छ । ताल बनेसँगै आसपासमा सिंचाइ सुविधा पुग्ने देखिन्छ, त्यसले पर्यावरण संरक्षणमा पनि टेवा पुग्न सक्ला । वृक्षारोपणका कामहरु पनि भएका देखिन्छन् । ताल आसपासमा ३० ओटा पिकनिक स्पट, चौतारा र प्रतिक्षालयहरु समेत बनिरहेका देखिन्छन् । पर्यटनको सो महंत्वकाक्षी योजनाले अझै पुर्णता त पाइसकेको छैन । पुर्णता पाएसँगै त्यसले सबैको ध्यान खिच्ने सहजै अनुमान लगाउन सकिन्छ । तालका कारण ६ किलोमिटर दुरीमा अवस्थीत रौतहटको नुनथर क्षेत्र र सर्लाहीको बागमति–११ मा पर्ने हरिहर क्षेत्रमा घुम्न आउने पर्यटहरु घुइचो लाग्न थालिसकेको स्थानीय सुनाउँछन् ।

मधेशको उग्रचण्डी ग्रमीबीच स्थानियले शितल खोज्न अन्त टाढा जानु परेको छैन । साथै मधेशको सौन्र्दय जिवित राख्न तालले ठुलो भुमिका खेलेको देखिन्छ । नगरपालिकाले भरत ताललाई स्वच्छ, सफा तथा हरियाली एवं फुलबारीमय बनाउनुपर्ने आवश्यकता पनि छ । सफा र सुन्दर पनि हुनसक्यो भने सो तालले निर्कै राम्रो पर्यटकीय हब बन्न सक्छ ।

खोलाको बगर रहेको, उपयोगमा नआएको सरकारी जग्गालाई हिन्दुस्तानमा बगी जाने खोलाको पानी हालेर भब्य ताल बनाइनु र पर्यटकीय हिसावले हिरा बनाउनु आफैमा एउटा बेजोड काम हो ।

वास्तम्बमा विकासको ‘भरत थापा मोडल’ नेपालको हकमा सबै ठाउँमा आवश्यक देखिन्छ । तर यहाँ त बहुआयामिक सम्भावनाहरु कोरल्ने विकासको ‘भरत थापा मोडल’ होइन् राज्यको अरबौं राजस्व स्वाहा बनाउने ‘भ्यु टावर मोडल’ को अनुशरण ज्यादा छ । झापाको दमकमा बनेको ३ अर्ब लगानीको ‘भ्यु टावर’ होस् वा देशका हरेक जसो स्थानिय तहमा बनेका होेचा–अग्ला ‘भ्यु टावर’हरु हुन् । त्यसले उपलब्धी दिने केही हैन । किनकी नेपालमा भ्यु टावरहरु भन्दा अग्ला पहाड छन् हिमाल छन् । त्यसकारण भ्यु टावरहरुमा हुने लगानी करिव वालुवामा पानी हाले सरह नै हो । हामीलाई चाहिने मेयर भरत थापा मोडल हो । जसले अनगिन्ती रोजगारी, आयआर्जन, आर्कषणहरु सिर्जना गरोस् । युवाहरुलाई देशमै केही गर्न प्रोत्साहन गरोस् । 

भरत थापाले जस्तै हरेक जनप्रतिनिधिहरुले आफ्ना आफना क्षेत्रमा भएका सम्भावनाहरुलाई एकएक गरी चिन्न सक्नुपर्छ । र, त्यसको अठोटका साथ कार्यान्वयन गर्न जरुरी छ । चाहँदामा गर्न सकिन्छ भन्ने उदाहरण भरतले दिएका हुन् । विकास भनेको कछुवा गतिमा होइन् खरायो दौडमा हुन जरुरी हुन्छ । जनताले आफनै जिवनकालमा सुविधा सम्पन्न विकास देख्न र अनुभुत गर्न पाउनुपर्छ । यसर्थ हरेक जनप्रतिनिधिहरुले बागमतीका मेयरबाट सिक्न सकुन् । राजनीति वास्तम्बमा अरुका लागि, जनताका लागि गरिनु पर्छ । नेताले आफ्नै लागि राजनीति गर्ने होइन । राजनीति विकास र सम्बृद्धि ल्याउने कुरासँग जोडिनु पर्छ । राजनीति भनेको उच्चस्तरको समाजसेवा हो । जसले समाज र राष्ट्रका लागि दिन सक्दछ वा जान्दछ, उसको हो जिवन्त राजनीति । मेयर थापा कुशल राजनीतिज्ञ हुन् असल समाज सेवक हुन् । अरुहरुले उनीबाट सिक्न जरुरी छ । 

उनको नगरपालिकाभित्र सबैजसो ठाँउमा कालोपत्रे भइसकेका देखिन्छन् । सरकारी विद्यालयहरुको गुणस्तर बढाएर विधार्थीको भिड लाग्ने बनाएका बताइन्छन् । स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै काम गरेको सुनिन्छन् । अन्यत्र जता जाँदा पनि आफना जनप्रतिनिधिहरुले काम नगरेका गुनासाहरु सुन्न पाइथ्यो । तर बागमति नगरपालिका र उनले विकास गरेको पर्यटन गन्तब्य नियाल्दा सबैले मेयरको प्रसंशा गान गाएको पाइयो । अनौठो लाग्यो, मेयर हुन् त भरत थापा जस्ता । 

फेसबुकबाट तपाईको प्रतिक्रिया