ललितपुर । चालू आर्थिक वर्ष रेमिट्यान्स बढेसँगै राष्ट्र बैंकमा विदेशी मुद्रा सञ्चिति पनि दिनानुदिन बढ्दै गएको छ । १२ खर्बको हाराहारीमा रहेको नेपालको विदेशी मुद्रा सञ्चिति विगत दुई वर्षदेखि भने द्रुत्त गतिमा बढिरहेको छ ।
यसअघि २०७८/२०७९ को असोजमा झन्डै २१ खर्ब रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति २०८० असोज महिनासम्म आइपुग्दा १६ खर्बभन्दा बढी देखियो भने २०८१ असोजमा २० खर्ब नाघेको थियो । चालु आवको असोजमा भने झन्डै ३० खर्ब नजिक पुगेको हो जुन अहिलेसम्मकै उच्च सञ्चिती हो।
विगत दुई वर्षदेखि सरकारको चालु खर्च नियमित भए पनि पुँजीगत खर्चमा आएको कमीले राष्ट्र बैकको ढुकुटीको साथै बैकिङ प्रणालीमा समेत निक्षेप फालाफाल हुन थालेको हो । चालु आवको असोज मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । चालु आवको सुरुमा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ सञ्चिति थियो । अमेरिकी डलरमा गणना गर्दा पनि राष्ट्र बैंकसँग असोज मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २१ अर्ब २१ करोड अमेरिकी डलर पुगेको छ ।
यस्तै, कुल विदेशी मुद्रा सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकसँग २६ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ छ भने बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १२ अर्ब १० करोड रुपैयाँ छ । राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चित गर्दा झन्डै १ तिहाई अर्थात २४ प्रतिशत हिस्सा भने भारतीय मुद्रा सञ्चित गरेको जनाएको छ ।
त्यसैगरी राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा सञ्चितिले १९ दशमलब ९ महिनाको वस्तु आयात तथा १६ दशमलब ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेका छ ।













फेसबुकबाट तपाईको प्रतिक्रिया