२०८२ आश्विन १६ | Oct 02, 2025

विद्योदय आवि वाखेतमा भित्ते पत्रिका प्रकाशन सुरू, विशेष विद्यार्थी प्याकेज ल्याइने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १५
|
765 views

म्याग्दी । विद्यार्थीहरुलाई सुसूचित र सिर्जनशिल बनाउने उद्देश्यले विद्योदय बाल क्लबले ‘दि भ्वाइस अफ विद्योदय’ नामक मासिक भित्ते पत्रिकाको प्रकाशन सुरु गरेको छ ।

बेनी नगरपालिका १०, वाखेतमा अवस्थित विद्योदय आधारभूत विद्यालयमा गठित नव गठित क्लबको पहलमा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पत्रिका प्रकाशन भएको छ । विद्यार्थीहरुले ड्रईङ पेपरमा हातैले लेखेर बुधबारदेखि समाचार र साहित्यमूलक मासिक भित्ते पत्रिका प्रकाशनमा ल्याएका हुन् । पत्रिकाको बुधबार विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले सम्पादकीय वाचन गरी उद्घाटन गरेका थिए ।

सामुदाय विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आर्कषण वृद्धि गर्न, विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्दै रचनात्मक क्रियाकलापमा प्रोत्साहित गर्ने उद्दश्यले मासिक भित्ते पत्रिका प्रकाशन सुरु गरिएको प्रधानाध्यापक प्रकाश अधिकारीले बताए । पोखराको माछापुच्छ्रे एफएमका पूर्व स्टेशन म्यानेजर तथा सारङ्गी न्युजका सम्पादक समेत रहेका अधिकारीले विद्यार्थीहरुको पहिलो प्रयास नै उत्कृष्ट भएको बताउँदै आगामी अंकहरु अझै परिष्कृत र परिमार्जित गर्दै लैजान आग्रह गर्नुभयो । उनले संस्कारयुक्त गुणस्तरीय शिक्षाका साथै विद्यार्थीहरुको चौतर्फी विकासकालागि विद्यालयले विशेष कार्यक्रम प्याकेज ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

विद्यालयका सूचना अधिकारी तथा शिक्षक अमृता जिसी रोकाको सहजीकरणमा विद्यार्थीहरुले भित्ते पत्रिका प्रकाशन सुरु गरेका हुन् । भित्ते पत्रिकाको सम्पादकमा सोफिया पाइजा र सह–सम्पादकमा रेविका रोका रहेका छन् । यस्तै, प्रअ प्रकाश अधिकारी संरक्षक तथा शिक्षक अमृता जिसी रोका संयोजक रहेका थिए । पत्रिका प्रकाशनले विद्यालयमा अध्ययनरत करिब ७५ जना बालबालिकाको प्रतिभा उजागर गर्नमा टेवा पुग्ने संयोजक अमृता जिसी रोकाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया