ललितपुर - ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विपक्षीहरुले नै आफूलाई पक्राउ गर्नुपर्छ भन्दै उक्साएको बताएका छन् । उनले आफूमाथि कानूनी उपचार खोज्नेहरुलाई मानसिक रोगीको संज्ञा दिएका छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई दमन गरेर अनाहकमा कैयौंको ज्यान दिएको २४ गते भएको तोडफोड र आगजनीमा सुरक्षा दिन नसकेको भन्दै ओली विरुद्ध सर्वोच्च रिट परेको छ । उक्त रिटमाथिको लिखित जवाफमा नै तत्कालीन प्रधानमन्त्री ओलीले आफूविरुद्ध रिट निवेदन पेश गर्ने कामलाई ‘मनोरोगको द्योतक’ भनेका छन् ।
तात्कालीन प्रधानमन्त्री ओलीलाई भदौ २४ गतेको तोडफोड, आगजनी र लुटपाटले मुलुकको संरचना ध्वस्त पार्न अहम भूमिका खेलेको गम्भीर आरोप लागेको छ । यसै विषयलाई आधार बनाएर राष्ट्रिय सुरक्षा परिषदका तत्कालिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग राखी दायर निवेदनमाथिको जवाफका क्रममा ओलीले रिट निवेदन पेश गर्ने विपक्षीलाई मनोरोगीको संज्ञा दिएका हुन् ।
यसमाथि ओलीले सर्वोच्चलाई लिखित जवाफ दिएका छन् । जवाफमा भनेका छन्, “सेना परिचालनको विषयमा जवाफदेही र जिम्मेवारी कानूनले निर्धारण गरेको अवस्थामा असम्वन्धित निकायलाई जिम्मेवार वनाई कारवाही गर्ने वा दोषारोपण गर्ने जस्ता कार्य गर्न र सो को माग गर्नु विपक्षीको मनोरोगको द्योतक भएको स्पष्ट छ।’ “अनावश्यक मनोरोजयुक्त गन्थनको आधारमा म समेत विरुद्धको दायर रिट निवेदन न्यायनिरुपणको योग्य विषय नभएको’ भन्दै ओलीले जवाफ सहित खारेजीको माग गरेका छन् ।
आफू त्यतिबेला राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष भएकाले व्यक्तिगत रुपमा र अध्यक्षको हैसियतमा समेत सेना परिचालनवारे अदालतले प्रश्न उठाउन नसक्ने भन्दै ओलीले ती विषय कार्यकारिणीको अधिकारक्षेत्र भएकाले न्यायनिरुपणको विषय नहुने सार्वजनिक रुपमा पटक पटक भन्दै आएका छन् । उनले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दा जेनजी आन्दोलनमाथि भएको दमन, बल प्रयोग र हातहतियारको विषय उल्लेख भने गरेका छैनन् ।

बिजनेस पाटी