२०८२ आश्विन १९ | Oct 05, 2025

विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु -इलाममा मानविय क्षती बढि पहिरोमा ३४ जनाको मृत्यु, चार बेपत्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १९
|
357 views


ललितपुर । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । विपद्का घटनामा परी ११ जना बेपत्ता भएका

अविरल वर्षासँगै गएको पहिरोमा परी इलाम जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । आज अपराह्न १ बजेसम्म प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन् । पहिरोमा परी मृत्यु भएका ११ जनाको शव परीक्षण भइसकेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिएकी छन् ।

क्षतिको विस्तृत विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरोमा परी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ, सन्दकपुर गाउँपालिकामा चार, माङ्सेबुङ गाउँपालिकामा तीन, देउमाई नगरपालिकामा आठ, माइजोगमाई गाउँपालिकामा सात र फाकफोकथुम गाउँपालिकामा एक गरी ३४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए ।

विपद्मा परी सन्दकपुर गाउँपालिकामा दुई तथा इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा एक/ एकजना बेपत्ता भएका छन् । छन् । बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै ३४ जनाको मत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी बाढीपहिरोमा परी उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको छ । खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन् । पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन् ।

सुत्केरीसहित दुई जनाको उद्धार
यसैबीच इलामको माङ्सेबुङ गाउँपालिका–१ पातीगाउँमा पहिरोमा परी गम्भीर घाइते भएका सुत्केरीसहित दुई जनाको आज नेपाली सेनाले उद्धार गरेको छ ।

उनीहरुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । माङसेबुङ गाउँपालिका, इलाम नगरपालिका र मानेभञ्ज्याङ इलाकामा पहिरोबाट क्षति भएकाले २१ बाहिनी अड्डा र अन्तर्गतका इकाइबाट सुरक्षाकर्मी परिचालन गरिएको सेनाले जनाएको छ ।

    

फेसबुकबाट तपाईको प्रतिक्रिया