२०८२ आश्विन १६ | Oct 02, 2025

विभिन्न पेशामा आवद्ध युवा तथा विद्यार्थीसँग अन्तरसंवाद गर्दै राप्रपा अध्यक्ष लिङ्देन

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ८
|
102 views

काठमाडौं । आगामी जेठ १५ गतेदेखि आन्दोलन चर्काउने निर्णय गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले युवाहरुसँग अन्तरसंवाद गर्ने भएको छ । वर्तमान व्यवस्था विरुद्ध गणतन्त्र दिवसका दिनदेखि निर्णायक आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरुको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्ष भन्दा मुनीका विभिन्न पेशा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्ने भएको छ ।

आनदोलनको पूर्वसन्ध्यामा अर्थात् जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गर्ने युवाहरुसँगको उक्त अन्तरसंवाद कार्यक्रमको नाम “अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा” दिइएको छ । सो कार्यक्रममार्फत युवाहरुमा रहेको राप्रपासम्बन्धी जिज्ञासा र प्रश्नहरुको समाधान गरिने राप्रपाका युवा विभागका प्रमुख प्रकाश रिमालले जानकारी गराए ।

४० वर्षभन्दा मुनिका युवा र विद्यार्थीहरुलाई राप्रपाले भनेको व्यवस्था परिवर्तन के हो ? अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नैपर्ने आवश्यक्ता किन हो ? राप्रपाले भनेको राजसंस्था कस्तो हो ? हिन्दू राष्ट्र पुनर्स्थापना र संघीयताको खारेजी गनुर्पर्ने कारण के हो ? आन्दोलनमा यूवा किन सहभागी हुने भन्नेजस्ता जिज्ञासाका विषयमा प्रत्यक्ष रुपमा अध्यक्ष लिङ्देनले जवाफ दिन लागेका हुन् ।

विभिन्न पेशा व्यवसायमा लागेका युवा र विद्यार्थीसँगको अन्तरसंवाद कार्यक्रममा राप्रपाले बोकेका राजनीतिक एजेण्डाका साथै अन्य आर्थिक, सामाजिक एजेण्डा र नीति के के हुन् ? आन्दोलनपछिको मार्गचित्र के हो ? भन्ने खालका जिज्ञासाको जवाफ दिनका निम्ति १२ गतेक कार्यक्रमको ढाँचा तय गरिएको विभागका प्रमुख रिमालको भनाइ छ ।

यसका लागि जेठ १२ गते राष्ट्रिय सभाहलमा राप्रपाले राजनीतिक र गैरराजनीतिक सबै क्षेत्रका युवाहरुलाई निमन्त्रण गरेको छ । राप्रपा भन्ने बित्तिकै पुरानो पुस्ताको पार्टी हो भन्ने भ्रम चिर्नका लागि यो कार्यक्रम सहयोगी हुने भन्दै यतिबेला राप्रपाले प्रवुद्ध वर्ग, उपत्यकाका नेवाः समुदाय लगायतसँग छलफल गरिरहेको छ भने १५ गतेको आन्दोलनलाई लिएर उपत्यकाव्यापी कार्यकर्ता भेलाहरु आयोजना गरिरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अबको आन्दोलन शान्तिपूर्ण र निर्णायक आन्दोलन हुने बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया