
ललितपुर । वैदेशिक रोजगारीमा जान चाहने नेपाली युवा/युवतीहरूका लागि सरकारले विना धितो ऋण उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत यस किसिमको व्यवस्था गरिएको घोषणा गरेको छ ।
तर वैदेशिक रोजगारीमा जान चाहने महिला र पुरुषले पाउने धितोको रकम भने फरक कायम गरिएको छ । जस अनुसार पुरुषले ३ लाख रुपैयाँसम्म विना धितो ऋण पाउने छन् भने महिलाहरुले चाहिँ ५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । विपन्न वर्गका युवा/युवती लक्षित यो कर्जा धितोबिना प्रवाह गरिने भएको छ । जसले आर्थिक अवस्था कमजोर भएका युवा÷युवतीहरूलाई ठूलो राहत पुग्ने सरकारले विश्वास लिएको छ ।
यस किसिमको कर्जालाई भने ‘विपन्न वर्ग कर्जा’ स्वरुप प्रवाह गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने यस कर्जालाई ‘विपन्न वर्ग कर्जा’ अन्तर्गत गणना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । खासगरी, महिलाका लागि ऋण सीमा बढी तोकिएकोले उनीहरूलाई वैदेशिक रोजगारीमा जान अझ प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
अब विदेशमा गएर कर्मा गर्ने चाहना भएका विपन्न वर्गका युवा/युवतीहरुले चर्को ब्याज व्यहोर्ने समस्याबाट मुक्ति पाउने भएका छन् । विगतमा धेरै युवा/युतवीहरू विदेश जानका लागि टिकट, भिसा र अन्य तयारी खर्च जुटाउन चर्को ब्याजमा साहुबाट ऋण लिन बाध्य हुने गरेका थिए । अब भने औपचारिक बैंकिङ प्रणालीमार्फत सस्तो र पहुँचयोग्य कर्जा उपलब्ध हुने श्रम मन्त्रालयको भनाइ छ ।
इच्छुक देशका युवा वर्गलाई विदेशमा गएर काम गर्नका लागि ऋण नपाइने समस्याबाट यस व्यवस्थाले हदैसम्म सजिलो बनाएको छ । यसका लागि सरकारले कार्य विधि अगाडि बढाइसकेको श्रममन्त्री शरतसिंह भण्डारीले बताएका छन् । उनले भने, “श्रमिकहरू चर्को ब्याजदरमा ऋण लिँदै आएका थिए । अब उनीहरूलाई बैंकमार्फत सहज ऋण दिने व्यवस्था गरिएको हो ।”
यसरी सरकारको योजना अन्तर्गत बैंक तथा वित्तीय संस्थाबाट सरकारको योजना अनुसार ‘विपन्न वर्ग कर्जा’ लिएर विदेश जाने युवा÷युवतीहरुले उक्त ऋण विदेशमा कमाइ गर्दै तिर्दै व्यवस्था गरिनेछ । कर्जाको कार्यान्वयनमा पारदर्शिता र निगरानी कायम गर्नेसम्बन्धी व्यवस्थाहरू पनि कार्यविधिमा समावेश गरिने नेपाल राष्ट्रबैंकको मौद्रिक नीतिमा समावेश गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया