२०८२ फाल्गुन ६ | Feb 18, 2026

शहीद गंगालालमार्फत विपन्न बालबालिकाकोे मुटु उपचार निःशुल्क हुने

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १३
|
663 views

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल अस्पतालमा १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

राष्ट्रिय हृदयरोग केन्द्रको सञ्चालक समितिको अध्यक्षको हैसियतले बैठकमार्फत् १५ वर्षमुनिका आर्थिक अवस्था कमजोर भएका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने गर्ने निर्णय गरेका हुन् ।

आर्थिक अभावकै कारण कुनै पनि बालबालिकाले उपचारबाट बञ्चित हुनु नपरोस् भन्दै यस्तो निर्णय गरेको बताए । अभावकै कारण उपचार नरोकिन गरी व्यवस्थ ागर्ने निर्ण गरेको वर्तमान कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिए ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रतिबालबालिका दुई लाख ५० हजार सहायता दिंदै आएको छ।

उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो।

यस वर्षको पुस महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा
निःशुल्क प्राप्त गरेका छन्। आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यका साथ थप स्रोतको खोजी गरिने मन्त्री पौडेलले बताए ।

बुधबार बसेको सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप श्रोतको खोजी गर्न स्थानीय तहहरूसँग समेत सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि सदस्य सापकोटालाई जिम्मेवारीसमेत तोकेको छ।

नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी विभिन्न खालका समस्या देखिने गरेको अध्ययनले देखाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया