
ललितपुर । सरकारले सामुदायिक विद्यालयहरुलाई प्रोत्साहन गर्नका लागि भन्सार महसुल र जग्गा रजिष्ट्रेशन दस्तुरमा छुट दिने प्रस्तावमाथि छलफल सुरु भएको छ ।
विद्यालय भवन रहेको जग्गा रजिस्ट्रेशन दस्तुर, विद्यालय प्रयोजनका लागि सवारीसाधन आयात गर्दा लाग्ने भन्सार महसुल, शैक्षिक सामग्री तथा प्रयोगशालामा प्रयोग हुने अन्य सामग्री आयात गर्दा लाग्ने भन्सार महसुल र विद्यालयका लागि चाहिँने नेपाल सरकारले तोकेको अन्य सामग्रीहरुमा समेत महशुल छुट दिने प्रस्तावमाथिको छलफल अघि बढेको हो ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा यस्तो प्रस्तावमाथि छलफल अघि बढेको हो ।
यस्तै आज बसेको समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहे दिन सकिने छुटसम्बन्धी प्रस्ताव पेश गरेका छन् । बैठकमा पेश प्रस्तावमा कसैले निजी लगानीमा विद्यालय खोल्न चोहमा तोकिएको विवरणलाई सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्ने, कम्पनी वा शैक्षिक गुठी कुन हो निवेदनमा उल्लेख गर्नुपर्ने, निजी लगानीका विद्यालय सञ्चालन गर्दा लोकल्याणकारी र सेवामूलक बनाई सञ्चालन गर्नुपर्ने पनि उल्लेख छ ।
सभापति थापाले राखेको प्रस्तावमा निजी लगानीका विद्यालय सार्वजनिक शैक्षिक गुठीमा रुपान्तरण भई सञ्चालन हुन चाहेमा त्यस्तालाई प्रोत्साहन गर्न प्रचिलत कानुनबमोजिम विभिन्न छुट तथा सुविधा दिने उल्लेख छ ।
यसअघि असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धतासहित सरकारले आन्दोलनरत शिक्षकहरूसँग सहमति गरेको थियो । सोही अनुरुप अहिले संसदीय समितिमा उक्त विधेयकमाथि निरन्तर छलफल चलिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया