२०८२ भाद्र ६ | Aug 22, 2025

शेयर अड लट कारोबारको व्यवस्था गरिँदै, १ देखि ९ कित्तासम्मको शेयर किनबेच सहज हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १३

ललितपुर । नेप्सेले आगामी दिनमा शेयर अड लट कारोबारको व्यवस्था गर्ने भएको छ । जसले १ देखि ९ कित्तासम्मको शेयर किनबेचमा सहजता ल्याउने छ । अहिले बजारमा १ देखि ९ कित्तासम्मको सेयर किन्न र बेच्न जुन किसिमको अप्ठेरो स्थिति छ त्यसलाई अड लट कारोबारले व्यवस्था गर्ने भएको छ ।

अहिले लगानीकर्ताको डिम्याट खातामा १ देखि ९ कित्तासम्म सेयर बसेको छ भने थप १० वा त्यसभन्दा बढी सेयर किनेर एकमुष्ठ बेच्नुपर्ने बाध्यता छ । यसले गर्दा लगानीकर्तालाई पटक पटक ब्रोकर कमिसन, डिम्याट शुल्क तिर्नुपर्ने बाध्यता छ । कम्पनीहरूले दिने बोनस सेयर, हकप्रद सेयर वा पहिले झुक्किएर पूरा सेयर बिक्री नहुँदा बाँकी रहेको एकल सेयर संख्या डिम्याट खातामा बस्ने गर्छ ।

यसरी सेयर बिक्री पश्चात् आउने बोनस सेयरका कारण अधिकांश लगानीकर्ताको डिम्याट खातामा १ देखि ९ कित्ता सेयर पेन्डिङ रहेको छ। यस्तो सेयरले पोर्टफोलियो भद्रगोल देखिने, थप लाभबाट वञ्चित हुनुपर्ने बाध्यता छ । यसैलाई मध्यनजर राखी नेप्सेले अब शेयर किनबेच सहज बनाउने उद्देश्यले अड लट कारोबारको व्यवस्था गर्न लागेको हो ।

अहिलेसम्म कुनै कम्पनीले १० प्रतिशत बोनस सेयर दियो, यदि डिम्याट खातामा ४–५ कित्ता मात्रै सेयर बसेको छ भने त्यस्तो सेयरमा बोनस पाइँदैन, बेच्न पनि पाइँदैन, मूल्य समायोजन हुँदा घट्दै जान्छ । वर्षौंदेखि रहेको यो समस्या अब भने समाधान हुने भएको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले छिट्टै नै मार्केट डेप्थमा देखिने गरी १ देखि ९ कित्तासम्मको सेयर अर्डर पोस्ट गर्न सकिने व्यवस्था गर्न प्राविधि काम भइरहेको छ ।
यसले बजारमा सेयर किनबेच सहज बनाउने र पोर्टफोलियो व्यवस्थित गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया