२०८२ आश्विन १६ | Oct 02, 2025

शेयर बजारमा लगानी बढाउँदै जीवन बीमा कम्पनीहरु, ३३ प्रतिशतले बढ्यो शेयर बजारमा लगानी

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १२
|
153 views

ललितपुर । पछिल्लो समयमा सबै वाणिज्य बैकहरुलेले मुद्दतीमा दिने व्याज दर क्रमशः घटाउँदै लगेपछि जीवन बीमा कम्पनीहरुले शेयर बजारमा लगानी बढाउन थालेका छन् । चालु आवको प्रथम त्रैमासमा १३ वटा जीवन बीमा कम्पनीहरुले २४ अर्ब ८६ करोड रुपैयाँ शेयर बजारमा लगानी गरेकोमा दोस्रो त्रैमासमा २५ अर्ब ७७ करोड रुपैयाँ पुगेकोमा तेस्रो त्रैमाससम्म आइपुग्दा २८ दशमलब ३६ प्रतिशतले बढेर ३३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

यतिबेला बैंकहरुमा तरलता अभाव भएर मुद्दती निक्षेपको व्याज दर डबल डिजिटमा हुँदा मुद्दती निक्षेपमै रमाएका बीमा कम्पनीहरु व्याज दर अत्यन्तै न्यून विन्दुमा आएपछि शेयर बजारमा लगानी बढाउन थालेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ अर्ब ८६ करोड रुपैयाँ रहेको शेयर लगानी तेस्रो त्रैमाससम्म आइपुग्दा ३३ प्रतिशतले बढेर ३३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै लगानी हिमालयन लाइफ इन्स्योरेन्सको रहेको छ । १४ वटा जीवन बीमा कम्पनीमध्ये मेट लाइफको शेयरबजारमा लगानी छैन भने कुल ३३ अर्ब लगानीमा हिमालयन लाइफको मात्रै शेयर बजारमा १० अर्ब ६३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ । हिमालयन लाइफले प्रथम त्रैमासमा ७ अर्ब दोस्रो त्रैमासमा ७ अर्ब ३३ करोड रुपैयाँ दोस्रो बजारमा लगानी गरेको तथ्यांक छ ।

त्यसैगरी हिमालयन लाइफपछि शेयर बजारमा धेरै लगानी गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले चैत्र मसान्तसम्म शेयर बजारमा ४ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेका छन् । यो चालु आवको प्रथम त्रैमासको लगानीको तुलनामा ४६ दशमलब ४० प्रतिशतले बढी हो ।

त्यस्तै सूर्यज्योतिले २ अर्ब ७० करोड, लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल०ले २ अर्ब ४२ करोड, राष्ट्रिय बीमा सस्थनले २ अर्ब १५ करोड रुपैयाँ लगानी गरेका छन् । सूर्यज्योतिको १४।८३ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल०को २०।२३ प्रतिशतले प्रथम त्रैमासको तुलनामा शेयर लगानी वृद्धि देखिए पनि राष्ट्रिय बीमा संस्थानको शेयर लगानी भने स्थिर देखिएको छ ।

प्रभु महालक्ष्मी, रिलायवल नेपाल, सन नेपाल, आईएमई, नेसनल र एसियन लाइफ इन्स्योरेन्सको शेयर बजारमा लगानी १ अर्ब रुपैयाँ भन्दा माथि छ । सिटिजन्स, सानिमा रिलायन्स लाइफको शेयर बजारमा लगानी भने १ अर्बभन्दा मुनि छ ।

चालु आवको प्रथम त्रैमासमा ६८ करोड ६५ लाख रुपैयाँ शेयरमा लगानी गरेको नेसनल लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमासमा ७७ करोड ९२ लाख रुपैयाँ र तेस्रो त्रैमाससम्म पुग्दा ९३ दशमलब ६४ प्रतिशतले वृद्धि गरी १ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ पुर्याएका छन् ।

नेसनल पछि क्रमशः प्रभु महालक्ष्मी, सन नेपाल, हिमालयन, नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ रहेका छन् । यी कम्पनीहरुले प्रथम त्रैमासको तुलनामा ३६ देखि ९३ प्रतिशतसम्म शेयर लगानी वृद्धि गरेका छन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) २०.२३ प्रतिशत, सिटिजन लाइफ १७.६० प्रतिशत, सूर्यज्योति लाइफ १४.८३ प्रतिशत तथा रिलायवल नेपाल लाइफल ३.५९ प्रतिशतले शेयर बजारमा लगानी वृद्धि भएको तथ्यांकमा देखिएको छ । चालु आवको तेस्रो त्रैमासमा एसियन लाइफ इन्स्योरेन्सको शेयर बजारमा लगानी भने १७ दशमलब ३७ प्रतिशतले घटेको देखिएको छ । चालु आवको प्रथम त्रैमासमा १ अर्ब ३१ करोड १४ लाख रुपैयाँ रहेको शेयर लगानी दोस्रो त्रैमासमा ४७.२० प्रतिशतले घटेर ६९ करोढ २४ लाखमा सीमित भएको थियो । तेस्रो त्रैमाससम्म आउँदा पुनः लगानी वृद्धि गरेर १ अर्ब ८ करोड ३६ लाख रुपैयाँ पुर्याएको भए पनि पहिलो त्रैमाससँग तुलनामा गर्दा १७ दशमलब ३७ प्रतिशतले ऋणात्मक वृद्धि देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया