२०८२ आश्विन १६ | Oct 02, 2025

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न बनेको समितिका सदस्यहरुको नाम टुंगियो

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २३
|
408 views

ललितपुर । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न बनेको विशेष समितिका सदस्यहरुको नाम टुंगो लागेको छ । ‘कुलिङ अफ पिरियड’ व्यवस्था हेरफेर गरिएको विषयमा निष्पक्ष छानबिन गर्न बनेको विशेष समितिका सदस्यहरुमा को को रहने भन्ने विषय टुंगिएको छ ।

सोमबार सभामुख देवराज घिमिरेसँगको भएको छलफलमा दलहरुले आआफ्नो पार्टीबाट सदस्यहरुको नाम अघि सारेका थिए । सोही अनुसार नामावली सूची तयार पारी सभामुखको सचिवालयले सार्वजनिक गरेको छ ।

छानबिन समितिमा नेपाली कांग्रेसका तर्फबाट जीवन परियार र सुशील थिङ रहेका छन् भने नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य रहेका छन् ।

त्यसैगरी समितिमा नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहने भएका छन् ।

संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको तर प्रतिनिधि सभाबाट पास भएर आउँदा कुलिङ पिरियड निष्प्रभावी हुने खालको प्रावधान थपिएको भन्दै केही दिनयता विरोध भएपछि विशेष छानबिन समिति गठन गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया