
गण्डकी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ पार्टीले देशव्यापी जागरणसभाको आयोजना गरेको बताउनुभएको छ । नेकपा (एमाले) कास्कीद्वारा आज पोखराको चिप्लेढुङ्गामा आयोजित जागरणसभामा उहाँले नेपाली जनताको बलमा प्राप्त उपलब्धिलाई कसैले खोस्न नसक्ने स्पष्ट पार्नुभयो । लोकतन्त्र, गणतन्त्र, संविधा, सङ्घीयता र धर्म निरपेक्षताको विरुद्धमा भइरहेका षडयन्त्रलाई परास्त पार्न गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा नेता पोखरेलले जोड दिनुभयो । यही चैतको १५ गते पूर्वराजाका समर्थकद्वारा भएको प्रदर्शनमा जनधनको क्षति भएको भन्दै प्रदर्शनकारीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने उहाँको भनाइ छ । जन्मका आधारमा शासन गर्ने कुरा आजको आधुनिक समाजमा स्वीकार्य नहुने बताउनुभयो । समाजमा विभिन्न ढङ्गले भ्रम पैदा गर्ने काम भइरहेको बताउँदै नेता पोखरेलले सञ्चार क्षेत्रले सत्यतथ्यका आधारमा त्यस्ता गतिविधिबाट जनतामा पर्ने भ्रमलाई चिर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मुलुकमा सङ्कट पर्दा र अधिकार प्राप्तिको आन्दोलनमा राजनीतिक पार्टीहरू एउटै मोर्चामा उभिने गरेको इतिहास रहेको स्मरण गर्दै उहाँले जनताका अधिकार र राजनैतिक स्थायित्व, विकास र सुशासनसहित समृद्धिका लागि दुई ठूला दल नेपाली कांग्रेस र एमालेको सरकार बनेको बताउनुभयो ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले जनअपेक्षाअनुसार सम्पूर्ण काम एकैचोटि हुन नसके पनि साढे तीन दशकको अवधिमा मुलुकको पूर्वाधार निर्माणमा कोसेढुङ्गा साबित भएको बताउनुभयो । पार्टी स्थायी कमिटी सदस्य एवं गण्डकी इन्चार्ज किरण गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताउनुभयो । स्थायी कमिटी सदस्य थममाया थापाले लोकतान्त्रिक संविधानले महिला हकअधिकार सुनिश्चित गरेको बताउनुभयो । एमाले कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामालगायतले जागरणसभाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । जिल्लाका पाँचवटै पालिकाबाट लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ विभिन्न नारा, नेपाल र पार्टीको झन्डा र बाजागाजासहित आएको र्याली चिप्लेढुङ्गास्थित मानव अधिकारचोकमा आएर सभामा परिणत भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया