संस्कृतिविद् प्रा.डा चुन्दा वज्राचार्यका कृति ‘थक्वाः देशका आदिनारायण’

 – स्वयम्भू शाक्य

थानकोट, काठमाडौ उपत्यकामा प्रवेश गर्ने चन्द्रागिरि भञ्याङ्गको नाका हो । पौराणिककालमा यस ठाउँलाई “सुप्रभा नगरी” भनिन्थ्यो । पछि शोणितपुर हुँदैं लिच्छविकालमा “थेन्जो ग्राम” नामवाट पनि परिचित भएको थियो । शोणितपुरका जनताले घर बनाउँदा कौशी राखिदैनन्थ्यो । यसको मुख्य कारण द्धापरयुगका किराती राजा बाणासुरकी छोरी राजकुमारी उषाले भगवान श्रीकृष्णका नाति अनिरुद्धसंग विवाह गर्ने इच्छा व्यक्त गरेकीले राती सुतिरहेका अनिरुद्धलाई अपहरण गरी दरवारको कौशीमा राखिएकोले उक्त संस्मरण स्वरुप घर वनाउँदा कौशी नराखिएको हो । पौराणिक कथन अनुसार अनिरुद्धलाई अपहरण गरेकोले भगवान श्रीकृष्णले राजा बाणासुरसंग युद्ध गरी विजय हासिल गरेता पनि पछि अनिरुद्धको विवाह उषासंगै गरिदिएको पाइन्छ ।
नेपालको इतिहासमा सर्वप्रथम शासन गर्ने गोपाली (ग्वाला) हरु उपत्यकाभित्र सवभन्दा बढी थानकोटमा बसोवास गदै आएका छन् । यो ठाउँ धार्मिक, सांस्कृतिक एवं नृशास्त्रको दृष्टिकोणवाट धेरैं महत्वपूर्ण ठाउँ हो । नेवारहरु थानकोटलाई “थक्वाः भनिन्छ । प्राचीन ऐतिहासिक अभिलेख अनुसार थानकोटलाई “थक्वाठ दे” लेखिएको पाइन्छ । “थ” भनेको माथि र “क्वाठ” भनेको सुरक्षाको लागि व्यवस्था गरिएको किल्ला हो । “दे” भनेको देश हो । पहिला यस किल्लाको तल “गःछेँ” भन्ने ठाउँमा सुरक्षाकर्मीहरु बस्ने भएकोले यो थानकोट क्षेत्र उपत्यकाभित्रका सबभन्दा उच्च स्थानमा रहेको किल्ला भन्ने बुझिन्छ भनी इतिहासकार तथा संस्कृतिविद् प्रा.डा. चुन्दा वज्राचार्यले “थक्वाः देशका आदिनारायण ”नामक पुस्तकमा आफ्नो धारण व्यक्त गर्नु भएको पाइन्छ । वि.स.२०६१ साल कार्तिक शुक्ल पूर्णिमा आदिनारायण मेलाका दिन नेपाली भाषाबाट प्रकाशित गरिएको प्रस्तुत ऐतिहासिक अनुसन्धानात्मक पुस्तक प्रकाशक प्रकाश फिड इण्डष्ट्री निमित्त आदिनारायण भजन खलः थक्वाःवाट भएको देखिन्छ ।
इतिहासकारहरुको भनाई अनुसार थक्वाःलाई द्धापर युगका किराती राजा बाणासुरका राज्यको रुपमा “सुप्रभापुर” वा “प्रभापुर” भनी उल्लेख गरिएका छन् भन्ने स्थानीय बासिन्दाहरुले “स्वणिपुर” पनि भन्ने गरेका छन् । लिच्छविकालिन अभिलेख अनुसार आदिवासीहरु बसोबास गदैं आएको यस स्थानमा आदिनारायण मन्दिर छ । जुन मन्दिर लिच्छविकाल पूर्वनै स्थापना भैसकेको देखिन्छ । मन्दिरको दक्षिण पश्चिम दिशाको च्वछेँ टोलमा प्राप्त भएको सम्वत ४८२ सालको अभिलेख अनुसार सव भन्दा माथि शीर्ष भागमा नारायणको प्रतीक स्वरुप शंख र चक्रको चिन्ह अंकित गरेर श्रध्दाभक्ति प्रकट गरेको बुझिन्छ । भनिन्छ , काठमाडौं उपत्यकामा बसोबास गर्नु भन्दा पहिले थानकोटमा बसोवास भएको थियो । उपत्यका पानीले भरिएको बेला पानीको सतह थानकोट प्रवेश गर्ने मूल बाटो “ताःफल” जहाँ गणेश र उनको शक्ति भएको पाटी अगाडी एउटा लामो ढुंगासम्म पुगेको थियो भन्ने कहावत रहेको देखिन्छ ।
भाषा, साहित्य, संस्कृति र इतिहासका क्षेत्रमा आफ्नो सम्पूर्ण जीवननै अर्पण गरिएकी मल्लकालीन धरःपौका प्रथम अन्वेषक प्रा.डा.चुन्दा वज्राचार्यकानुसार यो मन्दिर आदिकालदेखिनै भएकोले यस नारायणलाई आदिनारायण भनिएको हो । आदिनारायणको मुख्य पहिचान शिरमा शिवलिङ्ग हो । उभिएर रहेको यस नारायणको दायाँवायाँ लक्ष्मी र सरस्वतीको मुर्ति छन् । नारायणको पहिलो दायाँ हातमा चक्र, दोश्रो अभय मुद्रा, पहिलो बायाँ हातमा गदा, दोश्रो हातमा शंख छ । कालो शिलाको यो मुर्ति २३ इन्च लम्वाइ र १७ इन्च चौडाईको रहेको छ । मुर्ति कलात्मक भएतापनि अनुहारमा नाक, मुख र आँखा समेत प्रष्ट नभएको र कुनै आभूषण पनि नभएकोले स्थानीय भक्तजनहरुले हातमा चाँदीको बाला, पाउमा पाउजु, शिरमा मुकुट, गलामा पैसा र नागको माला पहिराएका छन् । किम्वदन्ती अनुसार सुप्रभापुर भनिने यस ठाउँमा पहिला राक्षसले दुःख दिने गरेकोले भगवान शिवले राक्षसलाई बघ गरी त्यहाँका बासिन्दाको रक्षा गरेको हुनाले नारायणले पनि शिवजीलाई आफ्नो शिरमा धारण रहेका हुन् । यसै गरी यहाँको आदिनारायणलाई सत्ययुग वा द्धापरयुगको मुर्ति पनि भन्ने गरिएको पाइन्छ । यसवाट आदि नारायणको मुर्ति लिच्छविकाल भन्दा पनि पहिलाको हो भन्ने बुझिन्छ । शक सम्वत ४८२ को च्वछेँ टोलमा प्राप्त लिच्छवि राजा गुणदेवको अभिलेखमा आदिनारायण क्षेत्रमा प्रतिष्ठा गरेको हुनाले नारायणकैं प्रतीकको रुपमा शंख र चक्र चिन्ह अंकित गरिएको छ भनी अन्वेषक प्रा.डा. चुन्दा वज्राचार्यले आफ्नो पुस्तकमा धारणा व्यक्त गर्नु भएकी छिन् ।
आदिनारायणको शिरमा रहेको शिवलिङ्ग संधै फूलले छोपिरहने भएतापनि वि.स.१९१० मा गाःछेंँ टोल निवासी लक्ष्मीनारायण, सिलेश्वरी तथा गणेशकुमारीद्धारा चढाएको तामाको नागपाशको नागमुनि शिबलिङ्गमा स्पष्टसंग देख्न सकिन्छ । उक्त नागपाश मुनि आदिनारायणलाई दायाँवायाँ ढलौटको सिंह र वीचमा गरुडको कलात्मक आसनमा विराजमान गराइएको छ । आदिनारायणको मुर्ति माथि १८.५ इन्चको चारपाटे पित्तलको कलात्मक इलां (चँदुसो) को वीचमा ४.५ इन्च लम्वाइ र ३ इन्च चौडाइको सानो नारायण पनि अंकित गरिएको छ । यहाँको कालो शिलाको आदिनारायण मूल नारायण हो भने दायाँतिर १५ इन्च लम्वाइ १० इन्च चौडाइ भएको गरुड माथि बसेकोे गरुडनारायण पनि छन् । बायाँतिर २३ इन्च लम्वाइ र १६.५ इन्च चौडाइ भएको तामामा सुनले जलप लगाइएको कार्तिक शुक्ल पूर्णिमाको दिनमा जात्रा गरिने आदिनारायणको मुर्ति छ ।
वि.स १९३४ सालमा गाःछेंँ टोलका सिद्धिश्वरी र उनका छोरा लक्ष्मीनारायण तथा छोरी नन्द कुमारी र अमीरमायाले कलात्मक मलः (चट्याङ्ग) र वीचमा नारायणको मुर्ति रहेको पित्तलका तोरण अनि धनकृष्ण लक्ष्मीले पित्तलको ढोका बनाएका हुन् । गजुर सहितको शिखर शैलीको उक्त मन्दिरको गजुर भएको चार दिशामा सुनका नागहरु पनि रहेका छन् । गजुर कमलको फूल आकृतिको छ । सुनको छत्र र सुनको पताका वि.स.२०६१ सालमा मात्रै चढाएका हुन् । यो पताका मन्दिरको मूलद्धारसम्म रहेको छ । पाँच पाटे आकारको उक्त पताकाको मध्यभागमा नारायणकै मुर्ति अंकित छ । १२८.५ इन्चको चारपाटे मन्दिरमा बज्र राखिएको छ । मन्दिरको उत्तर दिशामा ने.स.८०१ को अभिलेखमा धर्मसिं दुवाल भारोले आफ्नो नाति हाकुसिं भारोलाई नायक बनाई आदिनारायणको मन्दिरमा ढुंगाको पेटी बनाएको कुरा उल्लेख गरिएको छ । मन्दिर चढने खुड्किलाको दायाँबायाँ मल्लकालीन शैलीको दुंगाका दुई ठूला सिंह ने.स.८०९ मा बनाएका हुन् । मन्दिरको दायाँतिर सिंहको मुर्ति नेपाल लिपिवाट लिखित मल्लकालको अभिलेख छ । अभिलेखसंगै मन्दिरको दाँयातिर एउटा खोपा जस्तो प्वाल छ जहाँ महादेवको प्राकृतिक रुप अर्थात लुकमाः द्य को तात्पर्य महादेववाट वरदान प्राप्त भस्मासुरले सर्वप्रथम महादेवलाईनै छुन जाँदा महादेवले लुक्नु परेको कुरासंग सम्वद्ध छ । आदिनारायणको शिरमा अवस्थित शिवलिङ्ग त्यस अगाडि पानीले भरिएको कुण्ड उपत्यकाको प्रतीक हो भने कुण्डलाई बासुकी नागराजाले सुरक्षा गरेको प्रतीक स्वरुप कुण्डलाई नागले घेरेर राखेको छ । आदिनारायणको मुल मन्दिरको अगाडी तुलसी मठ छ । ने.स.८१० को अभिलेख अनुसार यसलाई “तुलसी फल” भनिएको छ । यो मठ ढुंगै ढुगांले वनाइएको लाम्चो र चारपाटे आकारको देखिन्छ । भूईवाट दुई तहको ढुँगा ओछ्याएर त्यस माथि वनाएको यो मठको पश्चिममा राजा योगनरेन्द्र मल्लको पालाको अभिलेख छ । यो मठ माथि शिखर शैलीको सानो मन्दिर छ । अभिलेख अनुसार त्यहाँ लक्ष्मीनारायणको र्मुिर्त स्थापना गरी आषाढ शुक्ल द्धादशीका दिनमा तुलसी मठमा तुलसी रोप्नु पर्ने आदि कुराको विवरण उल्लेख गरिएको छ ।
आदिनारायण मन्दिरभित्रको चोकको उत्तर पश्चिमको कुनामा एउटा लामो फल्चा (पाटी) देखिन्छ । त्यस पाटीको पश्चिम दिशामा महामञ्जुश्री र सरस्वतीसंगै बसिरहेको मुर्ति छ । स्वयम्भू पुराण अनुसार महामञ्जुश्री नेपाल आएर चोभारको डाँडा काटी उपत्यकाको पानी बगाए पछि मात्र बस्ती बसालेका हुन् । विद्याका गुरु मानिने देवता महामञ्जुश्री र विद्यादातृ देवी सरस्वती एकै ठाउँमा पाउनु यसको महत्वपूर्ण पक्ष हो । यस चोकमा मल्लकालीन अभिलेखहरुमा सबैभन्दा पुरानो अभिलेख ने.स.७८० रहेको छ । उक्त अभिलेखमा महामञ्जुश्री र सरस्वतीको मुर्तिका साथैं उक्त फल्चा (पाटी) पनि निर्माण गरिएको विवरण छ । राजा श्रीनिवास मल्लको पालामा बनाइएको उक्त मुर्ति र फल्चा थक्वाठ दथुटोलका माघवरसिंह भारो र उनकी श्रीमति फिकुनी मैं भारोले वनाएका हुन् ।
आदिनारायण मन्दिरको चोक प्रवेश गर्ने ढोका नजिकैं अर्थात आदिनारायण मन्दिरको अगाडी गरुडको खम्वा छ । माथि नारायण तिर हेरेर नमस्कार गरिरहेका गरुड कमलको फूल माथि बसेर एउटा खम्वाको मुनि एक जना महिला र पुरुष आदिनारायणलाई नमस्कार गरेर भक्तिभाव गरिरहेको मुर्ति देखिन्छ । पुरुषले दुवै खुट्टाले घुँडा टेकेका छन् भने महिलाले एउटा खुट्टाले मात्र घुँडा टेकेको देखिन्छ । मुर्ति मुनि यस सानो खम्वामा ने.स.७८८ जेष्ठ कृष्ण पक्ष प्रतिपदाको दिनमा थानकोटकैं शिवराम भारो र उनका जेठा छोरा मोतीरामले ढुंगाको खम्वामा गरुड वनाई बैकुण्ठबास होस् भनेर चढाइएको थियो । यस खम्वामा पहिला हात्ति बाँध्ने गरिन्थ्यो । त्यसैले पहिले राखेको गरुड खसेको हुनाले उक्त गरुडलाई मन्दिरको चोकभित्र पस्ने ढोकाको देव्रेतिर राखिएको छ । हाल खम्वामा रहेको गरुड ने.स.९९४ मा हवसिं भारोले जीर्णोद्धार गरेर राखेको भन्ने कुरा गरुड बसेको ढुंगा अगाडि नै उल्लेख गरिएको छ भनी नेपालको कला, संस्कृति, परम्परा र सभ्यतालाई सुक्ष्मरुपमा अध्ययन र अनुसन्धान गर्ने शिक्षा तथा संस्कृतिविद् प्रा.डा.चुन्दा वज्राचायले आफ्नो पुस्तकमा उल्लेख गर्नु भएको छ ।
आदिनारायणको चोकभित्रको फल्चामा चतुर मास भरि विहान बेलुकी भजन कीर्तन गर्ने गरिन्छ । बेलुकीको भजन कीर्तन पछि हालमालि (प्रसाद स्वरुप मकंै, भटमास आदि) बाड्ने चलन पनि रहिआएको छ । आदिनारायणको मन्दिरको चोकमा १८ वटा अभिलेखहरु छन् । ती अभिलेखहरुमध्ये एउटा अभिलेखमा राजा मानदेवका नाती बसन्तदेवले आफ्नो बहिनी जय सुन्दरीलाई उनका सन्तान दर सन्तानले भोग गर्न सकिने गरी जग्गाको चार किल्ला खोली लेखि दिएका छन् भने आदि नारायण मन्दिरभित्र रहेका मुर्तिहरुमा सुनको जलप लगाइएको मुर्ति समय समयमा फल्चामा भजन गर्नेले अन्यत्र भजन गर्दा लग्ने गरिएको पाइन्छ ।
कार्तिक कृष्ण प्रतिपदा देखि कर्तिक शुक्ल पूर्णिमासम्म उपत्यकाका चार नारायणको मेला लाग्ने भए जस्तैं यस आदिनारायणको पनि कार्तिक कृष्ण प्रतिपदा देखि कार्तिक शुक्ल पूर्णिमासम्मनै मेला लाग्ने गरिन्छ । उक्त मेलामा भाजुख्वाः खुसि (भाजुख्वाः खोला) अर्थात विष्णु भगवानले नुहाएको खोलामा मुख धोएर आदिनारायणको दर्शन गरियो भने मनले चिताएको कुरा पुग्छ भन्ने जनश्रृति रहेको पाइन्छ । त्यसैले मेलामा आउने भक्तजनहरु पनि आदिनारायणको पछाडी बग्ने नदीमा मुख धोएर मात्रै दर्शन गर्ने चलन छ ।
आदि नारायणको मन्दिर परापूर्वकालदेखि नै रहि आएको मानिन्छ । कसैले सत्ययुग र कसैले द्धापर युगको मन्दिर भनेर मानी आएका छन् । धर्म र संस्कृति बोकेको यो आदिनारायण मन्दिर मानव सभ्यताको पनि प्रतीकको रुपमा लिन सकिन्छ । पौराणिककालमा सुप्रभापुर भनेर चिनिने थानकोटमा पहिला मेघवाहन नामका राक्षसले तपस्या गरी ब्रम्हाजीले वरदान दिँदा आदिनारायणको पादुकाले हानियो भने मात्रै मर्ने नत्र मर्नु नपर्ने वरदान दिएका थिए । त्यसैले उक्त राक्षसले धेरै दुःख दिन थालेकोले आदिनारायणले कार्तिक शुक्ल पूर्णिमाका दिन मेघबाहन राक्षसलाई बघ गरेकोले उक्त दिन त्यहाँका बासिन्दाले भगवान आदिनारायणको जात्रा गर्ने परम्परा थालेका हुन् । जुन हालसम्म पनि चलि आएको छ भनी इतिहासकार तथा संस्कृतिविद् प्रा.डा.चुन्दा बज्राचार्यले थानकोटस्थित आदिनारायण मन्दिरको अध्ययन र अनुसन्धान गरी ‘थक्वाः देशका आदिनारायण’ नामक पुस्तकमा उल्लेख गर्नु भएको पाइन्छ ।
काठमाडौं विश्वको सवै भन्दा पुरानो शहरमध्ये एक हो । नेवार वस्तीको रुपमा रहेको यस काठमाडौ लाई प्राचीनकालमा नेपाः, नेपाल मण्डल, कान्तिपुर र स्थानीय बासिन्दाले येँ भन्ने गरिन्थ्यो । भनिन्छ, सबै धर्म संस्कृतिसंग सम्वन्धि हुन्छ । त्यसैले जहाँ धेरै विश्वास गरिन्छ त्यहाँ शक्तिको पनि जन्म हुने भएकोले मानवजातिले आ–आफ्नो सस्कारसंगै ज्ञान, सीप र दक्षताको विकास गरी मानव आचरणको पालना गरेको देखिन्छ । तसर्थ संस्कृति पूर्खाहरुको नासो हो । यो सांस्कारिक पहिचानको रुपमा चिनिने भएकोले ईसापूर्व पाँच हजार बर्ष पहिले चित्रलिपिवाट प्रथम अक्षरको रुपमा विकास भएको पाइन्छ ।
सस्कृति मानवजातिको पेवा भएकोले यो समाजको पहिचान मात्र होइन प्राण पनि हो । राष्ट्रको आत्माकोरुपमा चिनिने संस्कृतिको जन्म यायावर युगवाट विकसीत भई आजका युगसम्म भाषा, साहित्य, कला, संस्कृति, धर्म, दर्शन लगायत परम्परादेखि चलि आएका रितिरिवाज जस्ता मानवीय सभ्यताको एउटा संग्रह पनि हो । धर्म र संस्कृतिले मानव जातिलाई एक आपसमा मैत्रीपूर्ण सद्भावको विकास गर्ने भएकोले यो मनुष्यको जीवनपद्धति पनि हो । त्यसैले संस्कृतिलाई बैचारिक दर्शन र सामाजिक क्रियाकलापमा अभ्यस्त भई युगैंयुगदेखि संरक्षण र सम्वद्र्धन गर्ने जस्ता कार्यहरु भैरहेको पाइन्छ ।
अन्तमा हामी यो भन्न सक्छौ कि देशकैं ऐतिहासिक एवं धार्मिक महत्व बोकेका आदिनारायण मन्दिरलाई विषयवस्तु बनाएर इतिहासकार तथा संस्कृतिविद् प्रा.डा.चुन्दा वज्राचार्यले लेख्नु भएको प्रस्तुत “थक्वाः देशका आदिनारायण” नामक ऐतिहासिक अनुसन्धानात्मक पुस्तक धार्मिक, सांस्कृतिक एवं नृशास्त्रको दृष्टिकोणवाट पनि एक अनुपम उपहारको रूपमा लिन सकिन्छ । देश र सामाजले केही गर्न नसकेता पनि आफ्नो स्वमन र स्वचित्तले कला, संस्कृति, परम्परा र सभ्यतालाई सुक्ष्मरुपमा अध्ययन र अनुसन्धान गरी लिपिबद्घ गरिरहेका प्रा.डा.चुन्दा वज्राचार्य जस्ता घेरै समानित ब्यक्तिहरु आज पनि नेपालको भविष्य उज्ज्वल पार्नका लागि नेपालभित्र रहेका धार्मिक, सामाजिक र संस्कृतिक जस्ता विविध विधामा कलम चलाइ रहेका छन् । आशा छ , यस्ता अनुपम उपहारहरू संस्कृति तथा इतिहासका कुशल शिल्पकार सिद्घिहस्त प्रा.डा.चुन्दा वज्राचार्यवाट पनि सघैं पाइरहुन् । अस्तु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया