२०८२ फाल्गुन ६ | Feb 18, 2026

सङ्क्रमणको कारणले हुने बाथरोग: सेप्टिक आरथ्राईटिस

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २
|
4.3k views

उप-प्रा.डा. केशव राज सिग्देल

                                                   

                                                                                        

 जोर्नीभित्र पाइने जोर्नीलाई चिप्लो एवं लचकदार बनाउने तरल पदार्थ (साईनोभिएल फ्लुड) र जोर्नीका तन्तुहरूमा हुने एक प्रकारको सङ्क्रमणजन्य रोगलाई सेप्टिक  आरथ्राईटिस भनिन्छ । यो रोग प्रायजसो बच्चाहरूमा, र लागू औषधको सुई लिने वयस्कमा बढी भएको पाइन्छ । सामान्यतया शरीरको अन्य भागमा भएको सङ्क्रमण रगतको माध्यमबाट जोर्नीसम्म पुगेको हुन्छ। कतिपय अवस्थामा इन्जेक्सन, शल्यक्रिया वा चोटपटक पछि पनि जोर्नीहरू सङ्क्रमित हुन सक्छन् । यस्तो सङ्क्रमण प्राय काछ, घुँडा, कुम र कुहिना जस्ता  ठुला जोर्नीहरूमा देखा पर्दछ । बच्चामा काछ, प्रौढमा घुँडा, एवं लागू औषध प्रयोगकर्तामा काछ, फिलाको  जोर्नी र कुमको जोर्नी बढी प्रभावित भएको पाइन्छ ।

सेप्टिक आरथ्राईटिस के कारणले हुन्छ ?

विभिन्न प्रकारका ब्याक्टेरिया (स्टाफाईलोकोकाई, हेमोफिलस इन्फ्लुएन्जा स्ट्रेप्टोकोकाई, गोनोकोकाई, मेनिङ्गो कोकाई आदि), भाइरस (एचआइभी, मम्प्स, हेपाटाइटिस ए ,बि, सी), र फङ्गस (जस्तै: हिस्टोप्लाज्मा, ब्लास्टोमाइकोसिस आदि) ले जोर्नीलाई सङ्क्रमित गरी सेप्टिक आरथ्राईटिस निम्त्याउन सक्छन् । फङ्गसको कारणले बिरलै मात्र सेप्टिक आरथ्राईटिस हुनसक्छ । भइहालेमा अरू भन्दा बिस्तारै विकसित हुन्छ र निको हुन पनि गाह्रो हुन्छ ।

सेप्टिक आरथ्राईटिस निम्त्याउने ब्याक्टेरिया, भाइरस वा फङ्गसहरू शरीरमा धेरै तरिकाले  प्रवेश गर्न सक्छन्, जस्तै: घाउ सहित भाँचिएको हड्डी र छाला मार्फत, छाला वा गुप्ताङ्गको सङ्क्रमणबाट, छालाको चोटपटक, निर्मलीकृत नगरिएको सुई, र शल्यक्रिया मार्फत इत्यादि ।

सेप्टिक आरथ्राईटिस हुने जोखिम कसलाई बढी हुन्छ ?

बुढ्यौली उमेर, प्रणालीगत रक्तजन्य सङ्क्रमण भएको अवस्था, सुई मार्फत लागू औषध प्रयोगकर्ताहरू, विगतमा पनि सेप्टिक आरथ्राईटिस भएको व्यक्ति, हालै मात्र जोर्नीको अपरेसन गरेको व्यक्ति; ओस्टियोआरथ्राईटिस, रुमेटोइड आरथ्राईटिस, लुपस, ढाडको बाथ, गाउट जस्ता बाथरोग भएको व्यक्ति; छाला सम्बन्धी रोगहरू भएको व्यक्ति; घाउ-चोटपटक; जोर्नीको क्षयरोग; र नवजात शिशु लगायत  बालबालिकाहरूलाई सेप्टिक आरथ्राईटिस हुने सम्भावना बढी हुन्छ ।

मद्यपान, धुमपान, मधुमेह, क्यान्सर, एचआइभी सङ्क्रमण, फोक्सो वा कलेजोसम्बन्धी रोगहरू, प्रतिरक्षा प्रणाली कमजोर भएको अवस्था, कृत्रिम जोर्नी प्रत्यारोपण, केमोथेरापी गरिरहेका बिरामी आदिजस्ता स्वास्थ्य समस्याहरू सेप्टिक आरथ्राईटिसको लागि जोखिम बढाउन सक्ने थप कारक तत्त्वहरू हुन् ।

सेप्टिक आरथ्राईटिसको चिन्ह-लक्षण के के हुन् ?

सेप्टिक आरथ्राईटिसबाट बढी प्रभावित हुने जोर्नीहरू घुँडा, काछ, काँध, कुहिनो, नाडी जस्ता ठुला जोर्नीहरू हुन् । यस्तो  आरथ्राईटिसमा प्रायजसो एउटा मात्र  जोर्नी प्रभावित हुन्छ । लक्षणहरू व्यक्तिपिच्छे फरक फरक हुन सक्छन् । सामान्यतया देखिने साझा चिन्ह-लक्षणहरू निम्नानुसार  छन्:

उच्च ज्वरो आउने, जीउ काम्ने

सङ्क्रमित जोर्नी एक्कासि सुन्निने, जोर्नी वरिपरि रातो हुने, तातो हुने, दुख्ने, जोर्नी चलमल गर्दा झन् बढी दुख्ने

थकान, कमजोरी, अरुचि, मुटुको चाल बढी हुने, चिडचिडाहट हुने आदि ।

सेप्टिक आरथ्राईटिसका चिन्ह-लक्षणहरू अन्य स्वास्थ्य अवस्थामा जस्तै देखिन पनि सक्छन् । त्यसैले  शङ्का लाग्नासाथ निदान, परामर्श र उपचारको लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्दछ  ।

सेप्टिक आरथ्राईटिस भए नभएको कसरी पत्ता लगाइन्छ ?

जोर्नीको स्थायी क्षति रोक्नको लागि सेप्टिक आरथ्राईटिसको सक्दो छिटो  निदान र उपचार हुनु महत्त्वपूर्ण हुन्छ । यो प्रक्रिया चिकित्सकद्वारा चिकित्सा इतिहास र शारीरिक परीक्षणसँगै सुरु हुन्छ । रोग निदानको लागि निम्नानुसार परीक्षणहरू गर्नुपर्ने हुन सक्छ:

जोर्नीको तरल पदार्थ निकालेर जाँच गर्ने: तरल पदार्थको रङ्ग, श्वेत-रक्तकोष र ब्याक्टेरियाको उपस्थिति थाहा पाउनको लागि जोर्नीको पानी निकालेर ल्याबमा जाँच गर्नुपर्ने हुन सक्छ ।

रगत परीक्षण: रगतमा श्वेत-रक्तकोषको सङ्ख्या र  ब्याक्टेरियाको उपस्थिति पत्ता लगाउनको लागि रगत परीक्षण गर्नुपर्ने हुन सक्छ । यसले समस्याको सिकिस्तपन थाहा पाउन र उपचार प्रक्रिया निर्क्योल गर्न  मद्दत गर्छ ।

खकार, स्पाइनल फ्लुड र मूत्र परीक्षण: ब्याक्टेरियाको उपस्थिति खोज्न र सङ्क्रमणको स्रोत पत्ता लगाउनको लागि खकार, स्पाइनल फ्लुड र पिसाब परीक्षण समेत गर्नुपर्ने हुन सक्छ ।

जोर्नीको अवस्था पत्ता लगाउनको लागि चिकित्सकको सल्लाह लिएर एक्स-रे, एमआरआई, सिटी-स्क्यान, आरथ्रोस्कोपी अल्ट्रासाउण्ड जस्ता जाँचहरू गर्न सकिन्छ।

सेप्टिक आरथ्राईटिसको उपचार कसरी गरिन्छ?

सेप्टिक आरथ्राईटिस एक गम्भीर स्वास्थ्य समस्या हो । लक्षण, उमेर र स्वास्थ्य अवस्थाको गम्भीरतामा उपचार प्रक्रिया निर्भर हुन्छ । उपचारमा चिकित्सकको सल्लाहअनुसार सकभर छिटो उपचार सुरु गरेमा ४८ घण्टाभित्र लक्षणहरूमा सुधार ल्याउन सकिन्छ । रोग के कारणले भएको हो भन्ने आधारमा चिकित्सकीय औषधि उपचार फरक पर्न सक्छ । उपचारको क्रममा सङ्क्रमित जोर्नीबाट पटक पटक पीप वा तरल पदार्थ निकाल्नु पर्ने हुन सक्छ । साथै चिकित्सकको निर्देशन अनुसार दुखाइ र ज्वरोको लागि औषधि सेवन, मांसपेशी बलियो राख्न  फिजियोथेरापी, प्रभावित जोर्नीलाई आराम, दुखाइ कम गर्नको लागि जोर्नीमा स्प्लिन्ट बाँध्ने जस्ता विधिहरूले पनि उपचार प्रक्रियामा सहयोगी भूमिका खेल्दछन् ।

सेप्टिक आरथ्राईटिसको जटिलताहरू के के हुन् ?

सेप्टिक आरथ्राईटिसले जोर्नीको कुरकुरे हाडलाई नष्ट गर्न सक्छ; जोर्नी कुरूप हुन सक्छ; हड्डीमा सङ्क्रमण सरेर हड्डी  कुहाइदिन सक्छ; जोर्नी सङ्कुचनको कारणले सम्बन्धित हात गोडाको लम्बाई अर्कोसँग समान नहुन सक्छ; दीर्घ दुखाई हुन सक्छ; जोर्नीमा स्थायी क्षति पुर्‍याई बिरामीलाई असक्त गराउन सक्छ; शरीरभरि सङ्क्रमण फैलिएर बिरामीको मृत्यु समेत हुन सक्छ । त्यसैले सकभर छिटो रोग पत्ता लगाएर समयमै उपचार गराउन तर्फ चनाखो हुनुपर्छ।

सेप्टिक आरथ्राईटिस हुनबाट कसरी जोगिन सकिन्छ ?

सेप्टिक आरथ्राईटिस हुनबाट जोगिनको लागि शरीरमा घाउ-चोटपटक लाग्नबाट जोगिने; चोटपटक लागेमा वा छाला सम्बन्धी समस्या देखा परेमा बेलैमा उपचार गराउने; लागू औषधको सेवन नगर्ने; असुरक्षित यौन सम्पर्क नराख्ने; बच्चालाई समयमै खोप लगाउने, सुई सिरिन्ज प्रयोग गर्दा राम्ररी निर्मलीकृत गरेको मात्रै प्रयोग गर्ने;  दीर्घ रोग लागेको छ भने नियमित रूपमा उपचार गराई नियन्त्रणमा राख्ने आदि जस्ता उपायहरू अवलम्बन गर्नुपर्दछ ।

(लेखक वरिष्ठ बाथरोग विशेषज्ञ डा.  सिग्देल  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र आरोग्य स्वास्थ्य सदन, नेपाल बाथरोग उपचार केन्द्र, जावलाखेलमा कार्यरत हुनुहुन्छ । )

फेसबुकबाट तपाईको प्रतिक्रिया