सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा

म्याग्दी  २३ चैत २०८०।

सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ ।

मालिका गाउँपालिका–७ बिमदेखि बिमवाङ– धौलागंगा हुँदै मालिकाधुरी नजिकैको नागीथलासम्म सडक पुगेको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सडक निर्माण भएपछि मालिकाधुरी पुग्न पर्यटक र भक्तजनलाई सहजका साथै यात्रा अवधि छोटिएको बताए ।
“मालिकामा पूजाआजा, दर्शन र दृष्यावलोकन गर्नका लागि अब अघिल्लै दिन गएर टहरा, ओडारमा बास बस्नुपर्दैन”, उनले भने, “बिमदेखि नागीथलासम्म गाडीमा एक घण्टा र नागीथलादेखि मालिकाधुरीसम्म करिब ४५ मिनेट पैदलयात्रा गरेपछि पुगिन्छ ।”

मालिका गाउँपालिकाले खारा–बिम सडक स्तरोन्नति र मालिकाधुरी नजिकैको नागीथलामा सडक पुर्याउन विसं २०७८ माघमा दिव्यज्योति–नाना जेभीसँग रु एक करोड ५९ लाख ५४ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले सो योजनामार्फत नागीथलासम्म दुई किलोमिटर नयाँ मार्ग खनिएको र खारा क्षेत्रमा सडक स्तरोन्नतिको काम सकिएको जानकारी दिए । विसं २०७९ असारमा सम्पन्न हुनुपर्ने सडक निर्माण कम्पनीका प्रतिनिधिको ढिलासुस्ती र लापर्वाहीका कारण ढिलाइ भएको हो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया