सप्तकोसी नदीमा पानीको बहाव बढ्दै

काठमाडौँ ६ साउन
इटहरी-पूर्वी पहाडी क्षेत्रमा केही दिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा पानीको बहाव पनि बढ्न थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकहरुले जानकारी दिएका छन्।
बिहीवार बिहान ७ बजेको समयमा कोसी ब्यारेजमा १ लाख ८३ हजार ६३० क्यूसेक प्रतिसेकेण्ड बाढीको बहाव मापन भएको छ। कोसी नदीमा बाढीको बहाव हिजो साँझदेखि नै निरन्तर बढिरहेकाले अहिले बिहान ब्यारेजका २५ वटा ढोका खोलिएको छ।
पहाडी क्षेत्रमा बर्षा रातभर जारी रहेकाले अझै सप्तकोसीमा बाढीको बहाव बढ्नसक्ने अनुमान गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए। यही साउन १ गते यो वर्षकै सबैभन्दा बढी २ लाख ३५ हजार क्यूसेक प्रतिसेकेण्ड बाढीको बहाव मापन भएको र त्यसदिन ब्यारेजका ५६ ढोकामध्ये ३५ ढोका खोलिएको पनि प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया