२०८२ भाद्र ७ | Aug 23, 2025

सरकार–शिक्षक निर्णायक वार्ता दिउँसो २ बजे

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १७

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको निर्णायक वार्ता आज दिउँसो २ बजे हुने भएको छ ।

सोमबार र मंगलबार दुई दिनदेखि लगातार बसेको दुईपक्ष बीचको बार्ताले सकारात्मक रुप लिएपछि बुधबार पुनः दिउँसो बैठक बस्दैछ । बुधबारको बार्ता भने निर्णायक हुने प्रबल सम्भावना रहेको छ । शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार मंगलबार राति अबेरसम्म भएको छलफलबाट पनि निष्कर्ष आउन नसकेपछि अर्को वार्ता बुधबार दिउँसो २ बजेका लागि तय भएको छ ।

बुधबार विहान बसेको शिक्षक महासंघको बैठकले आफूहरु वार्तामा जाने र सरकार जसरी प्रस्तुत हुन्छ महासंघ पनि त्यसैगरी प्रस्तुत हुने निर्णय गरेको छ ।

पराजुलीले भनिन्, “अग्रगामी शिक्षा ऐन जारी गर्ने कुरा हो । अहिलेसम्म सरकारले विश्वासको आधार बनाएको छैन । सरकारसँगको छलफलमा त आज पनि जान्छौ । ऐन जारी हुने सुनिश्चितता हुनु पर्‍यो । सरकारले विश्वसिलो आधार बनायो भने त्यही अनुसार प्रस्तुत हुन्छौं । जनाएन भने त्यही अनुसार हुन्छौं ।’

यसअघि मंगलबार राति भएको वार्तामा महासंघले आफ्नो तर्फबाट ९ बुँदे प्रस्ताव पेस गरेको छ । सो प्रस्तावमाथि आज छलफल हुने बताइएको छ । मन्त्रिपरिषद्‍बाट ९ बुँदे पास भएमा आन्दोलनको मोडालिटी फेर्ने महासंघको जनाएको छ ।

यसअघि सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको र बुधबार निष्कर्ष निस्किने बताएका थिए ।

शिक्षक महासंघको ९ बुँदे प्रस्ताव अन्तर्गत विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब,सामाजिक सुरक्षा कोष,दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रम, शिक्षकको स्वास्थ्य उपचारमा छुटको व्यवस्था, निमावि प्रथम र मावि द्वितीयको तलबमा समानता, प्रधानाध्यापकको विषय, राहत शिक्षक लगायतका विषय समेटिएको छ ।

यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले समावेश गरेको ७ बुँदा र ९ बुँदाहरुभित्रै रहेर छलफल गरिने र आजको वार्ता निर्णायक बनाएर मन्त्रिपरिषदमा पेश गरिने भएको छ । जसको लागि सरकारको ८ अर्ब रुपैयाँ खर्च भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया