
ललितपुर । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा विक्री खुल्ला गर्ने भएको छ । यही साउन १५ गतेदेखि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको हो।
यस अघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेर बाँडफाँट समेत गरिसकेको छ ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशको अनुमति पाएको थियो।
जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।
साउन १५ गतेबाट भने कम्पनीले दोस्रो चरणको आईपीओ निष्काशन गर्न लागेको छ । यसपटक सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा साउन १९ र ढिलोमा साउन २९ गते कम्पनीले जनाएको छ ।
कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २४ करोड ७९ लाख रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २८ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.८३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.९० वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया