२०८२ आश्विन १६ | Oct 02, 2025

सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ : देउवा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३१
|
204 views

ललितपुर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगानीका लागि आउने जोसुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएका हुन्।

आज (मंगलबार) काठमाडौँमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले लगानीकर्तालाई सहज, सरल र भरोसायोग्य वातावरण दिनु जरुरी रहेको धारणा व्यक्त गरे ।

उनले भने, “लगानीका लागि आउने जोसुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ। लगानीकर्तालाई दुःख दिने भन्ने कुरा हुँदैन ।”

अहिले उत्पादित विद्युतको खपत र व्यापार गर्ने जिम्मेवारी सरकारको भए पनि यसमा निजी क्षेत्रको सहकार्य अनिवार्य भएको उनले बताए। “अहिले उत्पादन भएको विद्युत खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो। यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ,” देउवाले स्पष्ट पारे।

त्यसैगरी हाल धितोपत्र बोर्डले जलविद्युत आयोजनाको आइपिओ निष्कासन रोकेको विषयमा बोल्दै उनले बोर्डले चाँडै शेयर निष्कासन प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरे। उर्जा क्षेत्रलाई नेपालको प्राकृतिक सम्पत्ति भन्दै उनले हरित ऊर्जा (ग्रिन इनर्जी) मा बढी ध्यान दिनुपर्ने सुझाव दिए।

“उर्जा नेपालको लागि अत्यन्त महत्वपूर्ण क्षेत्र हो। नेपालको प्रकृतिले दिएको यो सम्पत्तिको विकासका लागि हामी अघि बढ्नुपर्छ,” देउवाले भने, “ग्रिन इनर्जीमा ध्यान दिन सके हामीलाई राम्रो हुनेछ।”

नेपालको आर्थिक र सामाजिक विकासमा उदारवाद तथा निजीकरण नीतिले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै सभापति देउवाले सार्वजनिक संस्थालाई निजीकरण गर्ने कार्यक्रम यसपटक पनि सरकारको नीति तथा कार्यक्रममा परेको उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया