सिंहदरबार जोगाउन खोजेको भए अझ ठूलो मानवीय क्षति हुन्थ्यो– प्रधानसेनापति

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १
|
1.7k views

ललितपुर - ललितपुर । प्रधानसेनापति अशोकराज सिग्देलले तत्कालीन अवस्थामा सिंहदरबारलगायत देशका अन्य महत्वपूर्ण संरचना जोगाउन खोज्दा अझै बढी मानवीय क्षति हुने परिस्थिति देखिएकाले सेना संयमित भएको बताएका छन् । गत भदौ २३ र २४ गते घटेका घटनाको जाँचबुझ गर्न गठित आयोगले लिएको बयानमा प्रधानसेनापति सिग्देलले यस्तो बयान दिएका हुन् ।

उनले बयानमा देशका महत्वपूर्ण संरचना जोगाउन खोज्दा र त्यतिबेलाको परिस्थितिलाई नियन्त्रणमा लिन जंगीअड्डाहरुले समेत सहजिकरण गरेको बताए ।

‘सेनाले सिंहदरबारलगायतका संरचना किन जोगाएन भन्ने आमचासोबारे सोधिएको प्रश्नमा उनले भौतिक संरचना जोगाउन खोज्दा थप मानवीय क्षति हुने परिस्थिति रहेकाले तत्कालीन अवस्था मूल्यांकन गरेर सेनाले उपयुक्त कदम चालेको बताएका थिए ।

आयोगले फिल्डमा खटिएका सुरक्षाकर्मीदेखि नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान लिइसकेको छ । त्यसमध्ये गत शुक्रबार मात्र आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान लिएको थियो भने हिजो अर्थात् सोमबार प्रधानसेनापति अशोकराज सिग्देलसँग बयान लिएको हो ।
आयोगले सबैको बयानलाई एकै किसिमको भएको निष्कर्ष निकालेको छ । उनीहरू सबैले २३ भदौमा बाध्यात्मक परिस्थिति सृजना भएकै कारण बल प्रयोग गर्नुपरेको बयान दिएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक बाहेक यस घटनमा जोडिएका अन्य सम्पूर्ण सुरक्षा र प्रशासनिक तहमा रहेका उच्च अधिकारीको बयान पूरा गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube