२०८२ भाद्र ६ | Aug 22, 2025

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १७


ललितपुर । सिरहा जिल्लाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो तीन आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति गरेको छ ।

आव २०७९/८० मा जम्मा रु १९ लाख ६६ हजार मात्रै राजस्व सङ्कलन गरेको यस भन्सार कार्यालयले आव २०८०÷८१ मा रु ४६ लाख ५० हजार सङ्कलन गर्न सफल भएको थियो भने गत आव २०८१/८२ मा रु ७० लाख छ हजार राजस्व सङ्कलन गर्दै उल्लेखनीय वृद्धि देखाएको छ ।

छोटी भन्सार कार्यालयका प्रमुख शम्भु केसीका अनुसार हाल मासिक सरदर रु छ लाख बराबरको राजस्व सङ्कलन भइरहेको छ । उनले भने “सामान्यतः खाद्यान्न, किराना सामग्री, मेलापर्वका लागि आवश्यक सामग्री, खेलौना र सजावटका वस्तुहरू यो भन्सार नाका भएर आयात हुने गरेका छन् ।”

राजस्व वृद्धिको पछाडि सीमावर्ती व्यापारिक गतिविधिको विस्तार, चेकपोइन्ट व्यवस्थापनमा सुधार र आयातकर्ताको सक्रियताजस्ता कारण रहेको प्रमुख केसीको भनाइ छ । भारतसँग सीमा जोडिएको सिरहा जिल्लामा यो छोटी भन्सारले गाउँस्तरको सस्तो तथा दैनिक प्रयोगका सामग्री भित्र्याउन सहजता प्रदान गर्दै आएको छ ।

त्यस्तै, स्थानीय व्यवसायीहरूले भन्सारको सेवा प्रवाहमा भएको सुधार र सहज प्रक्रियाले व्यवसायमैत्री वातावरण बनाएको बताएका छन् ।

भन्सार प्रमुख केसीले आगामी महिनामा राजस्व सङ्कलन अझ बढ्ने विश्वास व्यक्त गरे । भारतसँग सिमाना जोडिएको यस जिल्लामा माडर र ठाडी गरी दुईवटा मूल भन्सार रहेका छन् भने एउटा छोटी भन्सार सञ्चालनमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया