सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ९
|
18.6k views

ललितपुर - ललितपुर । अक्टोबर २६ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको थियो। विगत एक वर्षदेखि सुनको मूल्यले लगातार रेकर्ड बनाइरहँदा मंगलबार अर्थात् अक्टोबर २६ मा भने ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेर सुन बजारमा पहिरो गएको थियो । तर नेपालमा भने लगातार सार्वजनिक बिदा परेकाले त्यसपछि सुनको मूल्य निर्धारण गरिएको थिएन ।

तिहारपछिको आज पहिलोपटक मूल्य निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा भारी गिरावट आएको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।

जस अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसअघि नेपाल सुनचाँदी व्यवसायी महासंघले गत कात्तिक ३ गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रूपैयाँ तोकेको थियो ।

सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहँदा मंगलबार भने पहिरो जाने गरी नै १२ वर्षयताकै एकैदिनमा आएको सबैभन्दा ठूलो गिरावट थियो। कतिपय विज्ञहरुले सुनको मूल्य अझै घट्न सक्ने र विस्तार सुनबजार लयमा फर्कने विश्लेषण गर्न थालेका छन् ।

केही समययता सरकारी ऋणको वृद्धि, अमेरिकी डलरको कमजोर अवस्था र डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुनमा लगानी गर्नुले मूल्य बढिरहेको विज्ञहरु बताउँछन् ।

विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन किनेर भण्डार गर्नु पनि मूल्य बढ्नुको एउटा मुख्य कारण हो।

 पात्रो/राशिफल  रेडियो YouTube