२०८२ भाद्र ६ | Aug 22, 2025

सुनचाँदी व्यवसायीको राष्ट्रिय भेला, आन्दोलन रोक्न प्रधानमन्त्रीको आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ४

काठमाडौं । काठमाडौं उपत्यका लगायत बाग्मती प्रदेशका सुनचाँदी व्यवसायीहरु यतिबेला पसल बन्द गरेर राष्ट्रिय भेला सुरु गरेका छन् । सरकारले लगाएको विलासिता करको विरोधमा व्यवसायीहरूले आह्वान बन्दका कारण राजधानी काठमाडौँसहित बागमती प्रदेशका सुनचाँदी पसलहरू अझै खुलेका छैनन् । व्यवसायीहरू बुधबार राजधानीमा आयोजित राष्ट्रिय भेलामा सहभागी छन् ।
भेला बुधबार विहान ११ बजेबाट सुरु भएको छ भने विहीबारबाट आन्दोलनका अन्य कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले काठमाडौं उपत्यका र बाग्मती प्रदशेका केही ठाउँ बाहेक अन्य ठाउँका पसलहरु बन्द नगरिएको जानकारी गराएको छ ।
व्यवसायी महासंघ एवम् सुनचाँदी व्यवसायसँग सम्बन्धित संघसंस्थाका अगुवाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका थिए । सो पश्चात् प्रधानमन्त्री केपी शर्मा र संघबीच मंगलबार भएको छलफलमा प्रधानमन्त्री ओलीले आन्दोलन स्थगन गरेर पसल खोल्न आग्रह गरेका छन् । तर व्यवसायीहरूले आजसम्मका लागि काठमाडौं लगायत बागमती प्रदेशका पसलहरु बन्द नै राखेका छन् ।
व्यवसायी महासंघका अनुसार देशभरका सुनचाँदी व्यवसायीहरू यही असार २९ र ३० देशभका सुनचाँदी पसलहरु बन्द गर्ने तयारीमा जुटेका छन् । आगामी आर्थिक वर्षको बजेट मार्फत् सुनचाँदीका गरगहनामा लगाइएको दुई प्रतिशत विलासिता कर अनावश्यक भएको भन्दै यसलाई फिर्ता लिन र लाग्दै आएको मूल्य अभिवृद्धि कर समेत खारेज हुनुपर्ने माग राख्दै व्यवसायीहरूले राष्ट्रव्यापी आन्दोलन गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया