२०८२ आश्विन १६ | Oct 02, 2025

सूचना प्रविधि सावधानीपूर्वक प्रयोग गर्नुपर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३०
|
459 views

ललितपुर ।  सूचना प्रविधिको सावधानीपूर्वक प्रयोग गर्नुपर्नेमा सरोकारवालााले जोड दिएका छन् । राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको ‘विद्युतीय माध्यमबाट हुने लैङ्गिक हिंसा न्यूनीकरण’ विषयक अन्तरक्रियामा सूचना प्रविधिका कारण धेरै आर्थिक तथा मानसिक तनाव भोग्नुपर्ने भएकाले सावधानीपूर्वक प्रयोग गर्नुपर्नेमा जोड दिइएको हो ।
प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका प्रहरी नायव उपरीक्षक सुनिलकुमार वरनवालले सूचना प्रविधिको प्रयोग गर्दा ८५ प्रतिशत महिला तथा बालबालिका पीडित हुने गरेका, हिंसा तथा घृणास्पद अभिव्यक्ति धेरै भोग्नुपरेको बताए । उनले ‘फेक प्रोफाइल’ बनाउने, ‘साइबर ग्रुमिङ’, ‘म्यासेज’ र सामाजिक सञ्जालका विभिन्न माध्यमबाट धेरै हिंसा भोग्नु परिरहेको र सूचना प्रविधिको प्रयोग गर्दा सुरक्षासम्बन्धी धेरै सावधानी अपनाउनुपर्ने सुझाव दिए ।  प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका प्रहरी नायव उपरीक्षक वरनवालले अपरिचित व्यक्तिले पठाएको ‘लिङ्क’ नखोल्ने, फोन नउठाउने, नचिनेको मान्छेलाई साथी नबनाउने आदि गर्नुपर्ने बताए ।
विद्युतीय कारोबारसम्बन्धी ऐन–२०६३ ले विद्युतीय माध्यमबाट हुने हिंसाका बारेमा कानुनी उपाचारको व्यवस्था गरेको भए पनि आपत्कालीन अवस्थामा त्यसको प्रयोग गर्न सकिन्छ । फेक प्रोफाइल बनाएर र साइबर ग्रुमिङ पीडितमध्ये दैनिक ६०÷७० उजुरी साइबर अनुसन्धान ब्यूरोमा आउने गरेका छन् । आयोगका कानुन अधिकृत मुना चौलागाईंले पछिल्लो समयमा अधिकांश हिंसा विद्युतीय माध्यमबाट हुने गरेका उजुरी आउने गरेका र मासिक करिब १० उजुरी विद्युतीय माध्यमबाट हुने हिंसाका भएको बताईन् । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सूचना प्रविधिको प्रयोगबाट धेरै महिला हिंसामा परेको र उजुरी आइरहेको हुनाले विद्युतीय अपराध न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताईन् ।
कार्यक्रममा सहभागीहरुले अपरिचित नम्बरबाट फोन, म्यासेज आउने गरेको र विद्युतीय अपराधलाई रोक्न कडाइका साथ कानुनी कारबाही हुनुपर्ने र भएको कानुन प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया