२०८२ भाद्र ६ | Aug 22, 2025

स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २९

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।  प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९औँ बैठकमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले रोजगारी सृजना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । यसका लागि काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको उनको भनाइ थियो ।
उहाँले स्वास्थ्य, शिक्षा र अन्य विषयमा आम विद्यार्थीको पहुँचवृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनःविचार गर्नुपर्ने धारणा राखे ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति रघुुजी पन्तले शैक्षिक सुधार र रुपान्तरणका लागि प्रधानमन्त्री ओलीले लिएको चासो र चिन्तालाई कार्यान्वयन गराउन आग्रह गर्दै मन्त्रालयका तर्फबाट नेपाललाई शैक्षिक हब बनाउन प्रयास गरिने बताए ।
विश्वविद्यालयका उपकुुलपति प्रा डा अच्युतप्रसाद वाग्लेले शिक्षणका साथै अनुसन्धानात्मक विश्वविद्यालयको अवधारणालाई व्यवहारमा अनुवाद गर्ने नीति अनुरुप काम गरिने बताए ।  बैठकले यही जेठ ३० गते धुलिखेलमा आयोजना हुने ३०औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमका लागि विभिन्न स्कुललअन्तर्गत विभिन्न तहमा उपाधि हासिल गरेका एक हजार एक सय २९ विद्यार्थीको ग्रेस–लिष्ट स्वीकृत गरेको छ । ग्रेस लिष्टमा एक सय १८ विदेशी विद्यार्थी छन् ।
बैठकले रजिष्ट्रार प्रा डा राजीव श्रेष्ठद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२÷८३ लागि अनुमानित  चार अर्ब तीन करोड ८० लाख बजेटसहितको कार्यक्रम पारित गरेको छ । यसैगरी गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन र यस आर्थिक वर्षको कार्यप्रगति प्रतिवेदन पारित भएको छ । बैठकले विश्वव्रिद्यालयसभाको सदस्यका लागि चन्दादातामध्येबाट रत्ना कोइराला, लब्धप्रतिष्ठित विद्धानमध्येबाट त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडीन प्राडा दिव्या सिंह, सामुदायिक स्वास्थ्य विशेषज्ञ डा रीता थापा, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतम, मनोचिकित्सक अनन्तप्रसाद अधिकारी, विश्वविद्यालयका शिक्षकमध्येबाट डा विकास अधिकारीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
बैठकले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको भावी सहयात्राको नयाँ खाकासहितको प्रतिवेदन पनि पारित गरेको छ । दुुई संस्थाबीचको आपसी समस्याबारे गत माघ ४ गतेको सभा बैठकमा समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सहजीकरण समितिले दिएको प्रतिवेदन पारित भएको हो । नयाँ खाका अनुसार दुुई संस्था आपसमा सहयात्राबाट अलग हुन चाहेमा एकले अर्काेलाई छ वर्ष अगाडि जानकारी दिनुपर्ने लगायतका व्यवस्था गरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया