२०८२ आश्विन १६ | Oct 02, 2025

स्वास्थ्य बीमालाई अझै विस्तार गर्दै सरकार, जनप्रतिनिधि र कर्मचारीलाई अनिबार्य

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १९
|
204 views

काठमाडौँ । स्वास्थ्य बिमालाई विस्तार गर्ने क्रममा सरकार लागि परेको छ । सरकारले जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सङ्गठित क्षेत्रमा रोजगारी गर्ने सबैलाई स्वास्थ्य बीमाको आबद्धता अनिवार्य गरेको छ । सरकारले तयार गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।

यसअघि सरकारले स्वास्थ्य बिमामा प्रोत्साहन मात्र गरेको थियो भने अहिले भने अनिवार्य गर्न लागेको छ । यसअघि स्वास्थ्य बीमा स्वेच्छिक रूपमा गर्न सकिने व्यवस्था थियो । नीति तथा कार्यक्रमको प्रस्तावित बुँदामा भनिएको छ, ‘स्वास्थ्य बीमाको दायरा विस्तार गर्नेगरी जनप्रतिनिधि, सबै राष्ट्रसेवक कर्मचारी र सङ्गठित क्षेत्रमा कार्यरत व्यक्तिलाई बीमामा आबद्ध तराई आधारभूत बाहेकका सबै स्वास्थ्य सेवा तथा गम्भीर प्रकृतिको उपचार बीमाबाट हुनेगरी सुविधा थैली निर्माण गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।’

चालु आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमा बापतको मागदाबी व्यहोर्न नसकेर १६ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी हुन बाँकी मागदाबी देखिएको छ । अबको पाँच वर्षभित्र नेपाल सरकारले सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउने व्यवस्था गर्न लागेको हो । सरकारको नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा अनिवार्य गर्न लागेको हो ।

कार्यक्रममा प्रत्येक वडामा आधारभूत तहको स्वास्थ्य केन्द्र र नगरपालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उल्लेख गरिएको छ । त्यस्तै, सातवटै प्रदेशमा जलन उपचार केन्द्र र मुटु रोग उपचार सेवा विस्तार गर्ने, क्षयरोग नियन्त्रण गर्न केन्द्रीय छाती रोग अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गर्ने समेत कार्यक्रममा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया