२०८२ फाल्गुन ६ | Feb 18, 2026

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १
|
102 views

ललितपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माका संयोजकत्वमा समिति गठन गरेको छ । हाल कार्यान्वयनमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई परिमार्जन गर्नका लागि समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

गठित समितिमा मन्त्रालयका एघारौं तहका सहसचिव डा. अनुप बास्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुई, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. समीरकुमार अधिकारी, कानून उप सचिव गोपीकृष्ण रेग्मीलगायत सदस्य छन् ।

हालको मापदण्डले आँखा अस्पताल, नाक, कान र घाँटी अस्पताल तथा न्युक्लियर मेडिसिन लगायतका स्वास्थ्य संस्थाको मापदण्ड नसमेटेकाले त्यसलाई थप्ने तयारी मन्त्रालयको छ । मन्त्रालयले स्वास्थ्य संस्थाको सेवा सुधार तथा प्रभावकारिता ल्याउन तयार पारेका सबै विषयलाई समेटेर मापदण्ड परिमार्जन गर्ने गरी तयारी अघि बढेको जनाइएको छ । कोरोना महामारीपछिको परिवर्तित अवस्थामा स्वास्थ्य सेवा प्रभवकारी बनाउन समेत अहिलेको मापदण्ड परिमार्जन जरुरी रहेकाले मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया