
काठमाडौं । द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन माग राख्दै प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
आइतबार भएको द्वन्द्वपीडितसँगको भेटमा प्रधानमन्त्री ओलीले हिंसात्मक राजीतिबाट नेकपा (एमा)ले पनि पीडित पार्टी हो भन्दै आफ्नो नेतृत्वको सरकारका पालामा गठन भएका आयोग र यसका प्रक्रिया अविश्वास नगर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसँगको भेटमा द्वन्द्वपीडित नेतृ देवी खड्कासहित प्रतिनिधिले सिफारिस समितिले आफूहरूसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्ने भनाइलाई विश्वस्त पार्दै प्रधानमन्त्री ओलीले आफू द्वन्द्वकालदेखि नै शान्तिका पक्षमा स्पष्ट रुपमा उभिएको बताएका छन् ।
द्वन्द्वपीडितको ध्यानाकर्षण पत्रमा दलीय भागबन्डा नभई निष्पक्ष एवं पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई आयोगको अध्यक्ष र सदस्यमा सिफारिस हुनुपर्ने माग गरिएको छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूूची प्रकाशन गरिसकेको छ ।
यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले राजनीतिक असमझदारीका कारणले यो प्रक्रिया लामो समय लिएको स्पष्ट गर्दै बलात्कारजस्ता मानवताविरुद्धको जघन्य अपराध गर्नेलाई कानुनी कठघरामा उभ्याएर सजाय दिएरै छाड्ने तथा पीडितलाई न्याय र परिपूरण दिएरै छाड्ने उद्घोष गरे ।
‘उनले भने, “मलाई पीडितहरूसँग खेल्नु, छक्याउनु र अल्मल्याउनु छैन । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा दिशामा जाउँ भन्ने मात्रै मेरो ध्यान हो’, । “द्वन्द्वमा प्रत्यक्ष संलग्न नहुँदा नहुँदै पनि मेरो पार्टी नेकपा (एमाले) पनि एक प्रकारले पीडित पार्टी हो । शान्तिका पक्षमा लाग्दा लाग्दै हाम्रा नेताहरुलाई पनि अमानवीयरुपमा मारिएको छ ।’
‘समग्रमा भन्ने हो हिंसात्मक राजनीतिबाट हामी सबै पीडित छौँ । त्यसबेलाका द्वन्द्वरत पक्ष सरकार र माओवादी पनि पीडित छन् । पीडक पनि त्यहीँभित्र छन् । देशै पीडित छ । अब यस्ता शृङ्खला सँधैका लागि रोकौँ भन्ने हाम्रो प्रयास हो, यो प्रक्रियामा नआत्तिएर धैर्यपूर्वक, अशल र सही परिणाम ल्याउनका निम्ति एक भएर लाग्न म आग्रह गर्छु,’ उनले भने ।
प्रधानमन्त्री ओलीले यस्ता पीडाहरू रोक्ने प्रयास भइरहेको भन्दै धैर्यपूर्वक परिणाम निकाल्नका लागि एकजुट हुन समेत आग्रह गरे ।
आजको द्वन्द्वपीडितसँगको भेटका अवसरमा प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल को पनि उपस्थिति थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया