ललितपुर । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा रु. १९ अर्ब ५४ करोड बराबरका अयोग्य नोटहरु जलाएर आगो बाल्न प्रयोग हुने ब्रिकेट बनाएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार चलनचल्तिमा पठाउन अयोग्य नोटहरू पछिल्लो समय ब्रिकेट बनाएर बिक्री गरिन थालिएको हो।
आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा धेरै २० रूपैयाँ दरका नोट अयोग्य ठहरिएका थिए । यी दरका दुई करोड ९४ लाख वटा नोट अयोग्य चलनचल्तीमा नआउने खालका थिए भने सय रूपैयाँका दुई करोड ८० लाख वटा र पाँच सय रूपैयाँका एक करोड ५७ लाख वटा नोट काम नलाग्ने भएका हुन्।
पुनः चलनचल्तिमा पठाउन अयोग्य नोटहरू खिच्ने र त्यसलाई नष्ट गर्ने प्रक्रियालाई नोट धुलाइने समेत भनिन्छ। हालसम्म भने सात खर्ब ४५ अर्ब बराबरका नोट धुल्याइसकिएको छ।
त्यसैगरी, हाल बजारमा सात खर्ब ६१ अर्ब बराबरका विभिन्न दरका नोट चलनचल्तिमा छन्। पाँच रूपैयाँ, १० रूपैयाँ र हजार रूपैयाँका धेरै नोट चलनचल्तिमा छन्। राष्ट्र बैंकका अनुसार पाँच रूपैयाँ दरका ७५ करोड वटा, १० रूपैयाँ दरका ५८ करोड वटा र हजार रूपैयाँ दरका ५३ करोड वटा नोट चलनचल्तिमा रहेका हुन्।
अझै पनि चलनचल्तिमा नपठाइएका कुल ५१ अर्ब ५१ करोड बराबरका नोट राष्ट्र बैंकमा स्टकको रूपमा राखिएका छन्। आ.ज. २०८१र८२ मा भने राष्ट्र बैंकमा कुल एक खर्ब ४५ अर्ब रूपैयाँका नोट स्टकमा थिए भने ६ खर्ब ९० अर्ब बराबरका नोट चलनचल्तिमा थिए।













फेसबुकबाट तपाईको प्रतिक्रिया