
विराटनगर । सिंहदरबार बैंद्यखाना र कोशी प्रदेश सरकारबीच रु २ करोड २० लाखको औषधि किन्न सम्झौता भएको छ । प्रदेशको स्वास्थ्य सेवा प्रणालीमा आयुर्वेदलाई बलियो बनाउने उद्देश्यका साथ कोशी प्रदेश सरकारले सिंहदरबार वैद्यखाना विकास समितिसँग औषधि खरिदका लागि सम्झौता गरेको हो ।
नेपालको सबैभन्दा पुरानो र एकमात्र सरकारी औषधि उत्पादक सिंहदरबार वैद्यखाना विकास समितिसँग प्रदेश स्वास्थ्य मन्त्रालयले २ करोड २० लाख रुपैयाँ बराबरको औषधि खरिद गर्ने सम्झौता गरेको हो । यो सम्झौतासँगै सिंहदरबार वैद्यखानासँग सरकारी–सरकारी (जीटुजी) मोडलमा सिधै औषधि खरिद गर्ने कोशी देशको पहिलो प्रदेश बनेको छ ।
कोशी प्रदेशको विराटनगरमा सोमबार आयोजित एक कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव डा. राधिका थपलिया र सिंहदरबार वैद्यखाना विकास समितिको तर्फबाट कार्यकारी निर्देशक डा. प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको २ करोड २० लाख रुपैयाँ बजेटबाट मन्त्रालयले वैद्यखानाद्वारा उत्पादित २३ प्रकारका अत्यावश्यक आयुर्वेदिक औषधि खरिद गर्नेछ । यो बजेट तीन मुख्य स्रोतबाट जुटाइएको हो, जसमा आपूर्ति व्यवस्थापन केन्द्र कोशीका लागि ६३ लाख, जिल्ला आयुर्वेद अस्पतालहरूका लागि ६७ लाख र संघीय सरकारबाट प्राप्त अनुदानको ९० लाख रुपैयाँ समावेश छ ।
यस सम्झौतापछि औषधि खरिदमा १८ प्रतिशत छुट दिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया