२ करोड ८५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा महालक्ष्मी बैंकका चार कर्मचारी पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २६
|
1.8k views

ललितपुर - दार्चुला । महालक्ष्मी विकास बैंकको शाखा कार्यालय दार्चुलास्थित गोकुलेश्वरको २ करोड ८५ लाख रुपैयाँ रकम हिनामिना गरेको आरोपमा सोही बैंकमा कार्यरत चार जना कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा एकजना शाखा अधिकृत समेत छन् ।

रकम हिनामिना गरेको अभियोगमा पक्राउ पर्नेहरुमा महालक्ष्मी विकास बैंकको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही, कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त, नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउद र ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त रहेका छन् । उनीहरु चारैजना साउन २४ गते पक्राउ परेका हुन्।

    उनीहरु चारै जनालाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालतबाट पहिलो चरणमा सात दिनको म्याद तोकिएको छ ।

      बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयले चार जनाले मिलेर बैंकको ‘सञ्चिती रकम’ दुई करोड ८४ लाख ७६ हजार सात सय दुई रुपैयाँ हिनामिना गरेको उल्लेख गरी जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा तत्कालीन शाखा प्रबन्धक सागर शाहीसहित चार जनालाई साउन २४ गते पक्राउ गरेको थियो।
      पक्राउमध्ये नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउद महालक्ष्मी बैंक बसेको घरवालाको छोरी भएको खुलेको छु ।

      साउन २३ गते चारजना कर्मचारीले बैंकको भल्टमा राखिएको निश्चित सञ्चिती रकम हिनामिना गरेको आशंकामा बैंकको केन्द्र र प्रदेश कार्यालयका प्रमुख सहितको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा भल्टमा रहनु पर्ने निश्चित सञ्चिती रकम नभेटिएको र रकम हिनामिना प्रकरणमा बैंकका चारजना कर्मचारीको संलग्नता रहेको खुलेपछि उक्त चारैजनालाई निलिम्बित गरेको थियो ।

      अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको आशंका गरिए पनि यस विषयमा थप अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न प्रहरी टोलीले जानकारी दिएको छ । नेपालमा वान एक्स बेट बर्जित छ।

       पात्रो/राशिफल  रेडियो YouTube