
ललितपुर । चालु आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र सरकारले २ खर्ब २७ अर्ब भन्दा बढी खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको १२ महिनामध्ये सबैभन्दा बढी बजेट खर्च अन्तिम असार महिनामा गरेको तथ्यांकले देखाएको छ ।
महालेखा नियन्त्रयक कार्यालयको तथ्यांकअनुसार यही वर्षको असार महिनाको ३० दिनमा मात्र सरकारले २ खर्ब २७ अर्ब बजेट खर्च गरेको हो । खासगरी असारमा गरिने खर्चमाथि विज्ञहरुले प्रश्न उठाउँदै आएका छन् । असारमा मात्रै सरकारले चालु शिर्षक अर्थात कर्मचारीको तलव भत्ता, गोष्ठीहरुमा १ खर्ब २५ अर्ब सकेको छ । यस्तै, विकासका नाममा पुँजीगत शीर्षकमा यो अवधीमा सरकारले ७० अर्ब ४६ करोड भन्दा बढी रकम खर्च गरिसकेको छ ।
सरकारी खर्चको सम्पूर्ण हिसावकिताब राख्ने महालेखा नियन्त्रण कार्यालयको तथ्यांकले सार्वजनिक ऋणको व्यभार पूरा गर्न सरकारले ३२ अर्ब भन्दा बढी असार महीनामा मात्रै खर्च गरेको देखाएको छ ।
तथ्यांक अनुसार असार ३० गतेसम्म सरकारको सम्रग खर्च प्रणाली हेर्दा कुल बजेटको करिव ८२ प्रतिशत बजेट खर्च भएको छ । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्बको बजेट ल्याएका थिए । अहिलेसम्म उक्त बजेटबाट सरकारले १५ खर्ब १५ अर्ब कुल बजेट खर्च गरेको हो ।
यस्तै, यो आर्थिक वर्षमा पनि सरकारले अघिल्लो वर्षहरुमा जस्तै ठूलो रकम प्रशासनिक कार्यहरुमा खर्च गरेको छ । चालु शिर्षकमा ११ खर्ब ४० अर्बको बजेट ल्याइएकोमा समीक्षा अवधिसम्ममा ९ खर्ब ८० अर्ब खर्च भइसकेको छ भने विकास बजेट ३ खर्ब ५२ अर्बको ल्याइएकोमा यो असारको अन्त्य लाग्दा २ खर्ब १४ अर्ब खर्च भएको देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया