२०८२ फाल्गुन ६ | Feb 18, 2026

७७ करोड अमेरिकी डलर बराबरको बङ्गलादेशबाट हुने आयातमा भारतले लगायो प्रतिबन्ध

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ४
|
357 views

ललितपुर । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले हिजो बङ्गलादेशबाट आयात हुने विभिन्न श्रेणीका सामानमा तत्काललाई बन्दरगाह प्रतिबन्ध लगाएको छ ।

व्यापार केन्द्रित अनुसन्धान समूह ग्लोबल ट्रेड रिसर्च इनिसियटिभको रिपोर्टअनुसार भारतले स्थलमार्ग हुँदै बङ्गलादेशबाट हुने आयातमा लगाएको प्रतिबन्धले ७७ करोड अमेरिकी डलर बराबरको सामानमा असर पार्नेछ, जुन कुल द्विपक्षीय आयातको करिब ४२ प्रतिशत हो ।

शनिबार केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले बङ्गलादेशबाट विभिन्न श्रेणीका सामानआयातमा तत्काल लागु हुने गरी प्रतिबन्धको घोषणा गरेको छ। भारतको यस्तो निर्णयपछि बंगलादेशबाट आयात हुने गार्मेन्ट, प्रशोधित खाद्य पदार्थ र प्लास्टिकका सामानजस्ता प्रमुख वस्तुहरू अब समुद्री बन्दरगाहहरूमा मात्र सीमित भएका छन् वा स्थलमार्गबाट पूर्णतया निषेधित भएका छन्।

भारतको यो नयाँ नीतिअनुसार वार्षिक ६१ करोड ८० लाख अमेरिकी डलर मूल्यका बङ्गलादेशी कपडाहरू अब दुई तोकिएका बन्दरगाहहरूबाट मात्र भारत प्रवेश गर्न पाउनेछन्। भारतीय टेक्सटाइल निर्माताहरूले आफ्ना बङ्गलादेशी प्रतिस्पर्धीहरूले चिनियाँ कपडाको शुल्क–मुक्त आयात र पर्याप्त सरकारी निर्यात अनुदानबाट अनुचित लाभ लिने गरेको बताएका छन् ।

यी कारणहरूले बङ्गलादेशी निर्यातकर्ताहरूलाई भारतीय बजारमा १०–१५ प्रतिशत मूल्य निर्धारणको लाभ दिन्छ। जीटीआरआईले आफ्नो रिपोर्टमा भनेको छ, “यी व्यापार उपायहरू अलग–अलग रूपमा देखा परेनन्।”

जीटीआरआईको रिपोर्टमा भनिएको छ, “यो ढाकाले भारतबाट ठूलो सङ्ख्यामा सामान आयातमा प्रतिबन्ध लगाएको र चीनप्रति कूटनीतिक धुरी बनाएकोप्रति भारतको प्रतिक्रियाजस्तो देखिन्छ। यो कदमलाई बङ्गलादेशका अन्तरिम मुख्य सल्लाहकार मोहम्मद युनुसको विवादास्पद टिप्पणीको प्रतिक्रियाको रूपमा पनि हेरिएको छ।

बङ्गलादेशका प्रमुख सल्लाहकार युनुसले चीनमा दिएको सम्बोधनका क्रममा भारतका उत्तरपूर्वी राज्यहरूलाई ‘भूपरिवेष्ठित क्षेत्र र समुद्रसम्म पहुँच नभएको क्षेत्र’ भनेका थिए । यो टिप्पणीले कूटनीतिक घर्षण निम्त्याएको छ, भारतीय अधिकारीहरूले यसलाई यस क्षेत्रको कनेक्टिभिटी र स्थितिलाई कमजोर पार्ने रूपमा हेरेका छन्।

सन् २०२४ को अन्त्यदेखि बङ्गलादेशले भारतीय निर्यातमा शृङ्खलाबद्ध प्रतिबन्ध लगाउँदै आएको छ ।

यी प्रतिबन्धले सन् २०२५ को अप्रिलमा पाँच प्रमुख बन्दरगाहबाट भारतीय धागो आयातमा प्रतिबन्ध, चामल ढुवानीमा कडा प्रतिबन्ध र कागज र सुर्तीदेखि माछा र पाउडर दूधजस्ता दर्जनौं भारतीय सामानको आयातमा प्रतिबन्ध समावेश छ । ढाकाले आफ्नो भूमि भएर आवतजावत गर्ने भारतीय सामानमा प्रतिटन १.८ टका प्रति टन ट्रान्जिट शुल्क लागू गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया