ललितपुर - ललितपुर । नेपाल विद्युत प्राधिकरणले कात्तिक २ गतेसम्म ट्रंक तथा डेडिकेटेड महशुल बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने भनि सूचना प्रकाशित गरेपछि विभिन्न १६ वटा उद्योग तथा प्रतिष्ठानहरुले असोज मसान्तमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संयुक्त रुपमा निवेदन बुझाएका छन् ।
१६ उद्योगका उद्योगीहरुले आफ्नो उद्योगमा खपत भएको विद्युतबापत नेपाल विद्युत् प्राधिकरणबाट जारी भएको सम्पूर्ण बिजकको रकम यसअघि नै तिरिसकेको र अब कुनै पनि बक्यौता बाँकी नरहेको दावी गर्दै आएका छन् ।
उद्योगीहरुले विद्युत प्राधिकरणले बिना प्रमाण विशेष दरमा महशुल माग गरेको आरोप लगाएका छन् । यसअघि प्राधिकरणले विशेष दरमा महशुल माग गरेको विरुद्ध रितपूर्वक पुनरावलोकनका लागि निवेदन गरेको र उक्त निवेदन विचाराधीन रहेको अवस्थामा नै सम्पूर्ण पुनरावलोकन रद्ध गर्ने निर्णय प्राधिकरणको सञ्चालक समितिबाट गरेर आगामी कात्तिक २ गतेभित्र बक्यौता नतिरे विद्युत् लाइन नै काट्ने सूचना पठाएपछि उद्योगीहरुले प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।
हुलास स्टिल उद्योगले भने आफ्नो बिजुलीको बक्यौताबाफतको पहिलो किस्ता वापत ५० लाख ४३ हजार रुपैयाँ तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बिजनेस पाटी