ललितपुर – नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान गरेको छ ।
म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले मण्डलेको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा आयोजित समारोहमा पगोडाका महासचिव थान उलाई तीन लाख अमेरिकी डलरको चेक हस्तान्तरण गर्नुभएको याङ्गुनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
त्यसैगरी, उहाँले गङ्गाघाट हिन्दू मन्दिरको पुनर्निर्माणका लागि ५० हजार अमेरिकी डलरको चेक मन्दिरका अध्यक्ष पवन बजोरियालाई हस्तान्तरण गर्नुभएको छ । गङ्गाघाट मन्दिर म्यान्मारमा बसोबास गर्ने नेपाली समुदायका लागि महत्वपूर्ण धार्मिक स्थल मानिन्छ ।
राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार साझा धार्मिक सम्पदाको संरक्षण तथा प्राकृतिक विपत्तिबाट प्रभावित सांस्कृतिक महत्वका स्थलहरूको पुनःस्थापनामा सहयोग गर्ने नेपाल सरकारको प्रतिबद्धता यस सहयोगबाट झल्किएको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया