ललितपुर - ललितपुर – प्रहरीले आज सार्वजनिक गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट विदेशी मुद्रासहित एक जना ५१ वर्षीया स्वीडिस नागरिकलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकी महिला राहदानी नम्बर एए ३८४६४९१ की कुन्चोक खान्ड्रो रहेको र उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी ढुन्डीराज नेउपानेका अनुसार उनी सिचुआन एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट चीन जान लागेकी थिइन् । अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा चेकजाँचका क्रममा उनको खैरो साइड ब्यागभित्र लुकाइछिपाइ राखिएको ठूलो मात्रामा विदेशी मुद्रा फेला परेपछि नियन्त्रणमा लिइएको हो ।
प्रहरीले बरामद गरेको रकममा अमेरिकी डलर १० हजार ५००, युरो २६ हजार ७००, चिनियाँ युआन ७ हजार ४०० र स्वीडिस क्रोनर ४३ हजार रहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको सूचना अधिकारी नेउपानेले जानकारी दिनुभयो ।
पक्राउ परेकी महिला स्वीडिस नागरिक भएकाले विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिजनेस पाटी