
ललितपुर नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन कार्यदल गठन गर्ने भएको छ । उक्त कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल गर्नेछ । कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकार भएका नागरिक समाजसँग संवाद गर्ने कांग्रेसले निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको यही असार १६ देखि सुरु भई सोमबार सम्पन्न बैठकले उक्त निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सोमबारको बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । बैठकले आफ्नै नेतृत्वमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयनको मूल दायित्व र जिम्मेवारी आफ्नै भएको स्पष्ट पार्दै गणतन्त्र रक्षाका लागि पूर्णप्रतिबद्ध रहेको जनाएको छ ।
संविधान कार्यान्वयनको एक दशकमा देखिएका चुनौती र जटिलताको समीक्षा गर्दै यसको गतिशील कार्यान्वयनका लागि समयानुकूल संशोधन गर्नुपर्छ भन्ने निष्कर्षका साथ कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सातबुँदे सहमति भएको थियो । उक्त सहमतिमा ‘संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षाका साथै राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ भन्ने विषय उल्लेख गरिएको थियो । सत्ता गठबन्धन निरन्तर, थप जनमुखी काम गर्न आग्रह बैठकले वर्तमान सरकार गठन सम्बन्धमा भएको सातबुँदे सहमतिप्रति प्रतिबद्ध रहँदै सरकारको स्थायित्वका लागि जनभावनाअनुसार विकास, सुशासन एवं समुन्नतिका लागि प्रभावकारिताका साथ काम गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । कृषि उत्पादन वृद्धिगरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन, अत्यावश्यक पर्ने मलखाद र बीउबिजनको अभाव हुन नदिन, कृषि उत्पादनमा प्रयोग गरिँदै आइएको अधिकतम विषादीका कारण जनस्वास्थ्यमा पर्न गएको नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया