२०८२ फाल्गुन ६ | Feb 18, 2026

रसुवा बाढीमा परेका १० जनाको शव फेला, पीडित परिवारलाई २ लाख दिने सरकारको घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६
|
306 views

ललितपुर। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रको भोटेकोशी नदीमा गत मंगलबार एकाएक आएको बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भयो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उक्त बाढीमा कमपनीमा पनि २० जना बेपत्ता भएका छन्।

उद्धारमा खटिएको प्रहरीको टोलीले बेपत्तामध्ये हालसम्म १० जनाको शव फेला पारेको छ । तीमध्ये प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परिसकेको छ। उद्धार कार्यमा खटिएका मध्येबाट तीन प्रहरी बेपत्ता भएका थिए ।
उक्त बाढीमा परेर ज्यान गुमाउनेहरुको परिवारलाई नेपाल सरकारले जनही रु. २ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको १४ औँ राष्ट्रिय परिषद् बैठकले उक्त निर्णय गरेको हो।

प्रहरीका अनुसार बाढीका कारण नेपाल–चीन नाका जोड्ने मितेरी पुल, ईभी चार्जिङ स्टेसन, आठवटा इभी गाडी, भन्सार कार्यालयमा क्षति, रसुवागढी हाइड्रोपावरमा क्षति तथा ड्राइपोर्ट बगाउँदा ठूलो मात्रामा कन्टेनरहरू समेत बगाएको छ ।

हाल उल्लेख्य मात्रामा सुरक्षाकर्मी र उद्धारका लागि खटिएको टोली घटनास्थलमा परिचालित छन् भने खोजी तथा राहत कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ। पीडितहरूलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक राहत सामग्री उपलब्ध गराउने काममा स्थानीय सरकार, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी समन्वयमा जुटिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया