
ललितपुर । आगामी दिनमा बैंकहरुमा बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्र मार्फत् गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीको प्रयोगलाई बैंकिङ क्षेत्रसँग अझ प्रभावकारी रूपमा एकीकृत गर्ने घोषणा गरेको हो ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत् यस्तो घोषणा गरेको हो । मौद्रिक नीतिमा घोषणा गरे अनुसार केवाईसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सक्नेछन् । ग्राहकले एक पटक कुनै एक बैंकमा आफ्नो विवरण अद्यावधिक गरेपछि अन्य बैंक तथा सम्बन्धित निकायले पनि सो विवरण विद्युतीय प्रणालीमार्फत प्राप्त गर्न सक्ने पूर्वाधार निर्माण गरिनेछ ।
मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आधुनिक प्रविधिको प्रयोगमार्फत वित्तीय प्रणालीलाई नयाँ चरणमा प्रवेश गराउने योजनाअन्तर्गत डिजिटल प्रणाली, सबल भुक्तानी संरचना, र नवप्रवर्तनको प्रवर्द्धनमा समेत जोड दिएको बताए । सबल र सुरक्षित भुक्तानी प्रणाली विकास गरी विद्युतीय माध्यमबाट हुने कारोबार र वित्तीय पहुँच अभिवृद्धि गरिनेछ, पौडेलले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया