२०८२ भाद्र ७ | Aug 23, 2025

चलचित्रको माध्यमबाट सामाजिक रूपान्तरणतर्फ सन्देशमूलक पहल

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २९

ललितपुर। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको सहकार्यमा जनचेतनामूलक अभियानका रूपमा सञ्चालित जनचेतना नेपालुले विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२ सम्पन्न गरेको छ। शुक्रबार श्री भीमसेन गोला माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रममार्फत चलचित्रको माध्यमबाट सामाजिक सन्देश फैलाउने उद्देश्य राखिएको थियो।

कार्यक्रमको शुभारम्भ अध्यक्ष बालकृष्ण निरौलाको परिकल्पनामा तयार गरिएको जनचेतनामूलक गीत ‘कुरीतिलाई पन्छ्याउँदै’ बाट गरिएको थियो। उक्त गीत विपिन किरणको शब्द, बाबु बोगटीको संगीत तथा स्वरमा तयार गरिएको हो। साथै, कवि सुरज पराजुलीले सोही विषयमा आधारित कविता वाचन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नाट्यकर्मी तथा चलचित्र निर्देशक आशान्त शर्माले विद्यार्थीहरूका जिज्ञासाहरू सम्बोधन गर्दै चलचित्र र नाटकबीचको भिन्नता, प्रविधिको प्रयोग, अभिनय कौशल, नेपाली तथा विश्व चलचित्रको विकासक्रमबारे जानकारी दिए। उनले चलचित्रमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा राखे।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अभिनेत्री तथा समाजसेवी मुना निरौला त्रिपाठी, वरिष्ठ अधिवक्ता वासुदेव रिजाल, अभिनेता कविन्द्र त्रिपाठी, शिक्षासेवी बिमला ढुङ्गाना, जनचेतना नेपालका पर्वेक्षक सचित खतिवडा, कवि तथा निर्देशक सुरज पराजुलीलगायतको उपस्थिति थियो। विद्यालयका प्रधानाध्यापक बलराम पौड्याल, शिक्षक नवराज न्यौपाने र गणेश पहरीले पनि कार्यक्रममा अतिथिको भूमिका निर्वाह गरेका थिए।

कार्यक्रमको अध्यक्षता गरेका जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्वमा भएका १० प्रमुख कार्यहरूको प्रशंसा गर्दै त्यसबारे जानकारी प्रस्तुत गरे। उनले चलचित्र विधेयक, चलचित्र दिवस स्थापनालगायतका पहल, ‘आमाको पोस्टर’ अङ्कित हुलाक टिकट, ३३ सेवा अनलाइनमार्फत सुरु गरिएको पहल, ऐतिहासिक चलचित्र शीर्षकको पुस्तक प्रकाशन, पटकथा संग्रहालय स्थापनाजस्ता विषय उल्लेख गरे। साथै, चलचित्रकर्मी क्षमता अभिवृद्धि वर्ष, सफल चलचित्रहरूको सम्मानजस्ता कार्यक्रमहरू पनि स्मरण गरे।

कार्यक्रमको समापनमा अध्यक्ष निरौलाले सबै सहभागी, अतिथि र विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरूको प्रतिबद्धता व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया