२०८२ भाद्र ७ | Aug 23, 2025

मन्त्री गुप्ताले प्रधानमन्त्रीको सचिवालयमा राजीनामा पत्र छाडेर सामाजिक सञ्जालमार्फत् जानकारी गराए

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३१

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज प्रधानमन्त्रीको सचिवालयमा राजीनामा पत्र छाडेर सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । ७८ लाख घुस काण्डको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको सचिवालयमा राजीनामा पत्र छोडे पश्चात् उनले सामाजिक सञ्जालमा आफूलाई नखाएको विष लागेको बताएका छन् ।

“विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दोरहेछ । म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु । प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेबारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिवद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।”

राजीनामा लिएर बालुवाटार पुगेका गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भेट्न पाएनन् । प्रधानमन्त्रीलाई भेट्न नपाएपछि स्वकीय सचिव राजेश बज्राचार्यलाई पत्र बुझाएर फर्किएका हुन् । “प्रधानमन्त्री सिनेट बैठकमा हुनुहुन्छ,” सचिवालयका एक सदस्यले भने, “उहाँले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि स्वकीय सचिवलाई पत्र बुझाएर बाहिरिनुभएको हो ।”

सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार २४ घण्टाभित्र राजीनामा बुझाउन निर्देशन दिएका थिए । सोही निर्देशनपछि गुप्ताले राजीनामा दिएका हुन् । गुप्ताले राजीनामा सम्बन्धमा त्यसपछि सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् ।

सरुवा रोक्न र नियुक्तिका लागि घुस ७८ लाखको बार्गेनिङ भएको अडियो सार्वजनिक भएपछि उनी सर्वत्र आलोचित हुँदै आएका थिए । उक्त अडियोमा उनले भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीको समेत नाम जोडेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया