
ललितपुर। नेपाली गीतकारहरुको छाता संगठन गीतकार संघ नेपालले पछिल्लो समय गीतसंगीतको क्षेत्रमा देखिएको विकृति र विसंगतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सम्बन्धित पक्षलाई सचेत रहन अपिल गरेको छ । संघले बुधबार एक “ ध्यानाकर्षण तथा अपिल ” पत्र जारी गर्दै संघले श्रव्य दृश्य माध्यममार्फत प्रसारित हुने सामग्रीहरूले नेपाली सामाजिक मूल्य र संस्कृतिलाई नकारात्मक ढंगले प्रभाव पारिरहेको उल्लेख गर्दै यस्तो अवस्थाको न्यूनीकरणका लागि सम्बन्धित सबै पक्षले आत्ममूल्यांकन (सेल्फ सेन्सरसिप) गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
संघका अध्यक्ष वसन्त वित्यासी थापाद्वारा जारी “ ध्यानाकर्षण तथा अपिल ” पत्रमा गीतसंगीतका क्षेत्रमा कार्यरत सम्पूर्ण सिर्जनाकर्मी, सम्पादक, संगीतकार र गीतकारलाई सचेत रहन र मौलिकता जोगाउने अभियानमा सहयोग गर्न आहृवान गर्दै भनिएको छ ‘नेपाली समाजको भावना, संघर्ष र प्रेमलाई कलात्मक ढंगले अभिव्यक्त गर्ने गीतहरूले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । तर, पछिल्लो समय गैरजिम्मेवार लेखन, सांस्कृतिक विचलन र सामाजिक मर्यादामा आघात पुर्याउने सामग्री सार्वजनिक भइरहेका छन्, जसले मौलिकता र पहिचानमै खतरा उत्पन्न गरिरहेको छ ।’
अगाडी भनिएको छ, ‘गीतकार नै गीतको जननी भएकाले, गीत सिर्जना गर्दा मर्यादित, जिम्मेवार र अनुशासित ढंगले प्रस्तुत हुनुपर्छ । समाजमा सकारात्मक सन्देश र मनोरञ्जन फैलाउने माध्यमका रूपमा गीतसंगीतलाई स्थापित गर्न सबै पक्ष लाग्न आवश्यक छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया