
ललितपुर । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने तथा सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।
प्रधानमन्त्रीको सम्बोधनमा सरकारको काम, वर्तमान राजनीतिक परिस्थिति र तथा प्रतिपक्षी दलका नेताले सोधेका प्रश्नहरुको जवाफ दिने लगायतका विषय समावेश गरिने भएको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्भौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
आज सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको गरी तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
लेखा समितिमा ‘जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुनेछ । यस्तै, नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ । विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी सङ्घीयता सबलीकरण समितिमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया