
ललितपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुनु भनेको संविधानको भावना विपरीत भएको नेकपा एमालेको ठहर छ । सोही अनुसार पूर्व राष्ट्रपति भण्डारीलाई दल विशेषको सदस्य भएर राजनीतिमा सक्रिय हुनु उपयुक्त नहुने भन्दै एमालेले सदस्यता नवीकरणमा रोक लगाएको हो ।
पार्टीले सदस्यता नवीकरण मात्र नभई पूर्व राष्ट्रपतिले कुनै पनि दलमा आबद्ध भएर कार्यकर्ता वा नेता हुने विषय नै संविधानको भावना र मर्म विपरीत हुने समेत निष्कर्ष निकालेको छ ।
नेकपा एमालेको दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको नवौँ बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने विषयले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । एमालेले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन मिल्दैन भन्ने तर्क गरिरहँदा संविधानको भाग ६ का विभिन्न धाराहरू स्मरण गराएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको संविधानको भाग ६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ । सोही धाराको २ मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने सोही धाराको ३ मा राष्ट्रिय एकताको प्रवर्द्धक,सोही धाराको ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा २६७ को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ ।’ संविधानले यति गहन जिम्मेवारी दिएको व्यक्तिले फेरी राजनीतिमा फर्किएर दलको सदस्य हुने, नेता हुने विषय कल्पना गर्न नसकिने प्रमुख गौतमले बताए।
पार्टी कमिटिको नवौँ बैठकले भण्डारीको राजनीतिक पुनरागमनलाई रोक लगाएको छ ।
पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने विषयमा रोक लगाउन एमालेले जारी गरेको विज्ञप्तिमा आठवटा कारण देखाइएको छ । ‘मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, संविधानको पालनाकर्ता र संरक्षणकर्ता ,सेनाको परमाधिपति,साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ’ विज्ञप्तिमा भनिएको छ । बैठकले पूर्व राष्ट्रपतिलाई उच्च सम्मान गर्दै पूर्वराष्ट्रपति कै भूमिकामा बस्न आग्रह गरेको छ ।
यस्तो छ विज्ञप्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया