२०८२ भाद्र ६ | Aug 22, 2025

मधेश प्रदेश तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ७

ललितपुर । आज बसेको मन्त्रिपरिषदको बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीनमहिनाका लागि सरकारले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो । यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ को उपदफा १ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाको अवधिका लागि मधेश प्रदेशभर विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने ।

यसैगरी ‘उपदफा १ बमोजिमको अवधिभित्र विपदबाट उत्पन्न स्थिति नियन्त्रण हुन नसकेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो घोषणाको अवधि बढाउन सक्ने,’ पनि उल्लेख छ ।

हाल मधेश प्रदेशमा लामो समय पानी पर्न नसक्दा त्यहाँका किसानहरु खडेरी र सुक्खाको मारमा परेका छन् । लामो समयसम्म पनि पानी नपर्नु र भएका पानीका स्रोतसमेत सुक्दै गएकाले खानेपानी र सिंचाइ प्रणालीमा प्रभाव परेको छ । नेपालको अन्नको भण्डार मानिने तराई क्षेत्रको समयमा वर्षा हुन नसक्दा किसानहरुले धान पोप्न पाएका छैनन् । धानको बिउ खेतमै सुकेको अवस्था छ । रोपाइ गरिएका कतिपय खेत पनि पानीको अभावले सुक्न थालेका छन् ।

पानीको अभाव बढिरहेको छ । इनार तथा चापाकलहरु धमाधम सुक्न थालेका छन् । नदी तथा पोखरीमा समेत पानीको मात्रा घट्दै गएको छ । जसका कारण मधेस प्रदेशका आठवटै जिल्लामा खानेपानी र सिँचाइ प्रणालीमा प्रभाव परेकाले प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको सरकारले जनाएको छ ।

यही साउन ५ गते मुख्यसचिवले बोलाएको सचिवहरूको बैठकले मधेश प्रदेशमा खानेपानी तथा सिंचाइको समस्या समाधानका लागि आवश्यक पहल र समन्वय गर्न गृह मन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिने निर्णय गरेको थियो ।
अव सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को उपदफा १ बमोजिम राजपत्रमा सूचना प्रकाशित गर्नेछ । उक्त सूचना प्रकाशित भएको मितिले ३ महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा हुनेछ ।

वर्षादको समयमा समेत मधेशमा पानीको समस्या देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अध्ययन टोली पठाउने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया