२०८२ श्रावण १३

धनुषा । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी सोमबार राति एक किशोरीको हत्या गरिएको छ भने दुईजना घाइते भएका छन् ।
धनुषाको कटैयाचौरी भन्ने स्थान नजिक भएको उक्त घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया किशोरी अञ्चली यादवको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । घाइते अन्य दुईमा अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव रहेका छन् । घाइते दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति ती तीनै जनामाथि खुकुरी प्रहार गरेका थिए । आशाको टाउको र शरीरको विभिन्न भागमा घाउ लागेको छभने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ । अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।
साह आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय काटेका व्यक्ति हुन् । मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको खोजी भइरहेको जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया